सुर्खेत । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट एक जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगतामा कर्णाली प्रदेशबाट उसु विधाका दिपक हमालले प्रतिस्पर्धा गर्नु हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गोल्ड मेडल हात पर्न सफल हुनुभएका हमालले कर्णाली प्रदेशबाट सागमा एकल सहभागिता जनाउनु हुने भएको हो ।
भौतिक पूर्वाधार प्रशिक्षण सामग्रीको अभाव झेल्दै आएको कर्णाली प्रदेशबाट साग खेलका लागि छनौटमा परेका सात जनामध्ये एक जनाले मात्रै साग खेलकुदमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । समितिका अनुसार कर्णाली प्रदेशमा खेलाडीको अभाव नभई खेल मैदान, प्रशिक्षक तथा खेलकुदका सामग्रीको अभावले खेलाडी पलाएन हुने दुखद अवस्था रहेको छ ।
उत्कृष्ट खेलाडीहरु पनि जेनतेन जिल्लासम्म आइपुग्ने र त्यहीबाट पलायन भएर जाने गरेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज भुवनबहादुर थापाले बताउनु भयो । उहाँले भौतिक पूर्वाधार र प्रशिक्षणको अभाव हुँदाहँुदै पनि एकजना खेलाडीले सागमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
कर्णाली प्रदेशका जिल्लामा २१ वटा खेल विधामा प्रशिक्षण गरिएपनि प्रतियोगितामा भने एक जनामात्रै छनौटमा परेका छन् । विभिन्न खेल विधाका प्रशिक्षकहरुको अभाव हुने र खेलाडीलाई खेलप्रति आकषर्ण गर्न आधार नभएकाले खेलाडीमा उत्साह नभएको जिल्ला खेलुकद विकास समिति सुर्खेतका प्रमुख रामबहादुर वलीको भनाई छ । राष्ट्रिय खेलमा उत्कृष्ट भएका खेलाडीलाई तालिमका लागि शिविरमा राखिने र त्यही शिविरबाट साग खेलका लागि खेलाडी छनोट हुने गरेको प्रमुख वलीले जनाउनु भयो । खेल मैदान बनाउन प्रदेश र संघीय सरकारले बजेट विनियोजन गरेपनि काम हुन नसकेको उहाँको भनाई छ ।
गत वर्ष प्रदेश सरकारले प्रदेश स्तरीय खेल मैदान बनाउने भनि सात करोड विनियोजन गरेर बजेट रकमान्तर गरि अन्यत्र खर्च गरिएको थियो । यस पटक पनि खेलकुदको पूर्वाधार निर्माणमा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार १४:२४