सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएको सिटी बसपार्क निर्माण सम्पन्न भएको पाँच महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा ढिलाइ हुँदा यातायात व्यवसायीले भने सास्ती भोग्नुपरिरहेको छ ।
गत जेठमा निर्माण कार्य सम्पन्न भएपनि नगरपालिकाले तदारुकता नदेखाउँदा बसपार्क सञ्चालनमा ढिलाई भएको हो । वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले दशै अगाडिनै बसपार्क सञ्चालनमा ल्याउने बताएपनि नगरपालिकाले नै आवश्यक प्रक्रिया पुरा नगर्दा बसपार्क सञ्चालनमा ढिलाइ भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सिटी बसपार्क सञ्चालनमा आउँन अझै तिन महिना लाग्ने जानकारी दिनु भयो । बसपार्क व्यवस्थापन कार्यविधि स्वीकृत भएर कार्यान्वयनको चरणमा रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत ढकालले अबको दुई तिन महिनाािभत्रै सिटी बसपार्क सञ्चालनमा आउने बताउनु भयो ।
उहाँका अनुसार सिटी बसपार्क ६ करोड ८२ लाख ७५ हजार आठ सय ८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको तर लागत अनुमानभन्दा ६२ लाख बढी खर्च भएको छ । उहाँले सात करोड ४४ लाखमा बसपार्कको निर्माण सकिएको जनाउनु भयो । नगर विकास कोषको सात करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार बसपार्क सञ्चालन भएपछि वीरेन्द्रनगर नगरपालिकाले कोषको ऋण रकम तिर्ने सम्झौता गरेको छ ।
बसपार्क सञ्चालनमा ढिलाइ हुँदा सवारी आवागमनमा समेत समस्या भएको सिद्धपाईला यातायात प्रालिका सञ्चालक पदम वनले बताउनुभयो । निर्माण सम्झौताभन्दा दुई वर्ष ढिला गरी बसपार्क निर्माण गरेपनि सञ्चालनमा भएको ढिलाइले यात्रु र व्यवसायीले सास्ती भोग्नुपरेको उहाँको भनाइ छ ।
१५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य दुईपटक म्याद थप गरी निर्माण सम्पन्न भएको हो । ०७४ जेठ मा बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी ०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो ।
०७५ असोजमा निर्माण सम्पन्न गरी नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्ने सम्झौता भए पनि एक वर्ष बित्न लाग्दापनि बसपार्क हस्तान्तरण गरिएको छैन । निर्माण भएको नयाँ बसपार्कमा यात्रुहरूलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, दुईवटा गेट रहेका छन् ।
प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार ०८:४३