राँझा । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) को अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगञ्जमा उत्सव मनाएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएका इस्लाम धर्मावलम्बीले बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गरेका छन् ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।
उहाँका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औँ जन्म जयन्ती मनाएका हुन् ।
“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो” , धर्मगुरु मञ्जरीले भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।”
आइतबार बिहानैदेखि शुरु भएको ¥याली दिनभर चल्ने बाँकेका मुसलमान अगुवा मोहम्मद शेर बागवानले बताउनुभयो । ¥यालीमा बालबालिकादेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको छ । ¥यालीले आइतबार नेपालगञ्जका अधिकांश सडकमा आवागमन अवरुद्ध भएको थियो ।
मुसलमान समुदायको मोहम्मद डे उत्सव ¥यालीलाई व्यवस्थापन गर्न शहरमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।
यहाँका मुसलमान समुदायले मोहमम्द डे का अवसरमा केन्द्रीय तथा प्रदेश ५ सरकारले सार्वजनिक बिदा नदिएको गुनासो गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाले मात्र मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०७६, आईतवार १८:२१