सुर्खेत । स्थानीय तहमा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतमा विवाद उत्पन्न भएको छ ।
स्थानीयस्तरको राजनीतिक शक्ति सन्तुलन, केन्द्रद्वारा जारी पार्टी एकताको मापदण्ड तथा निर्देशन विपरीत जिल्ला कार्यालय बैठकले जिम्मेवारी बाँडफाँट गरेपछि असन्तुष्टि बढेको हो । जिल्ला कमिटीको यही कात्तिक २० र २१ गते बसेको दोस्रो पूर्ण बैठकले निर्वाचन क्षेत्र तथा स्थानीय तहका पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँट गरेको थियो ।
बैठकमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका गरी १४ जना सदस्यले बैठकमा ‘नोट अफ डिसेन्ट’लेखेका थिए । जिल्ला कमिटी सदस्य कुलमणि देवकोटाले बहुसंख्यक जिल्ला कमिटी सदस्यहरुको असहमति हुँदाहुँदै जिल्ला पार्टी कार्यालयले मनोमानी ढंगले गरेको निर्णयलाई आफूहरुले स्वीकार नगर्ने बताउनुभयो । उहाँले छानविन लागि प्रदेश कमिटी, केन्द्रीय कमिटी र पार्टी संगठन विभागलाई ध्यानाकर्षण पत्र पठाइसकेको जानकारी दिनुभयो ।
त्यस्तै, ४४ जना जिल्ला सदस्यहरुले हस्ताक्षर गरी पार्टी नेतृत्वसमक्ष ध्यानाकर्षण पत्र पठाएका छन् । जिल्ला कमिटी सदस्य ऐनबहादुर चन्दले नेतृत्वले आफूहरुको माग सम्बोधन नगरे गाउँ–टोलसम्म समानान्तर कमिटी गठन गर्न बाध्य हुने चेतावनी दिनुभयो । पूर्व पार्टी कमिटीको सिफारिसलाई बेवास्ता गरेको, अगुवा एवं पुराना नेता÷कार्यकर्ताको भावनालाई आत्मसाथ नगरेको र केन्द्रद्वारा जारी सर्कुलरको विपरीत जिम्मेवारी बाँडफाँट गरिएकाले आपत्ति जनाउनुपरेको असन्तुष्टहरुको भनाई छ ।
जिल्लाका ९ स्थानीय तहमध्ये पूर्व एमाले पक्षले ५ तथा पूर्व माओवादी पक्षले ४ तहको प्रमुखको जिम्मा पाएका थिए । तीमध्ये पूर्व एमाले पक्षले सिम्ता गाउँपालिका, लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका, वराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका तथा पूर्व माओवादी पक्षले भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाको नेतृत्व पाएको थियो । जिल्ला कमिटी सचिव कृष्ण जीसीले असन्तुष्टहरुको मागलाई आगामी बैठकमा छलफलको विषय बनाइने बताउनुभयो ।
प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार १७:२१