पुर्खाको पसिना र रक्त कतिको ज्यानै गएको थियो
गर्दा युद्ध भएर सन्धि जसको हिस्सा ठुलो खोसियो ।
बाँकी भाग मिलेर यो मुलुकको नक्सा बनेको थियो
सीमामा दिनरात आक्रमणले नेपाल झन् खुम्चियो ।।
काली दुख्दछ गण्डकी पनि दुख्यो सुस्ता बढी घाइते
नेपाली सब मूकदर्शक भयौॅ, छौॅ मौन वर्षौॅ बिते
नेता हुन्छ प्रसन्न,मौन,बलियो पैसा र सत्ता भए
हाम्रो देश रहन्न आक्रमण यो स्वीकार गर्दै गए ।।
भोका गिद्धहरू ढुकेर कहिले मिल्ला सिनोझैॅ गरी
लागे रे लिपु लेकतर्फ अहिले सल्लाह अर्को गरी।
मिल्दै भारत,चीनले अब त्यहाँ व्यापार गर्ने अरे
हाम्रा शासक मख्ख छन् सब मिली नेपाल टुक्रा गरे ।।
यौटा गाउँ समाप्त हुन्छ सजिलै छन् वीर मान्छे जहाँ
छौॅ हामी अब सार्वभौम कसरी बोल्दैन कोही यहाँ ?
भन्छन्’पर्ख र हेर’ शासकहरू लाचार छन् जो पनि
‘हाम्रो हो लिपु लेक’ भन्न नसकी बस्छन् मुसाझैॅ बनी ।।
ऐले पो लिपु लेक आक्रमण भो, दुख्नेछ नेपाल नै
सुस्ता दुख्दछ,शारदा,गुलरिया,बाँके नदुख्ला र खै ।
देखेमा बलि मित्रको ‘म त बचेॅ’ भन्छन् रमाई पशु
मर्छन् ती पनि कालका मुख परी त्यस्तै बनी के बसूँ ।।
आई बाघ खसी लगेपछि ठुलो आग्लो लगायो भने
के रक्षा हुन सक्छ यो मुलुकका लाचार नेता बने ?
मौरीले जब बाह्य आक्रमणको सन्देश भेट्टाउँछन्
सारा एक भएर शत्रु सबले ठेगान पो लाउँछन् ।।
आफ्नो थातथलो मिचे पशुहरू सङ्घर्ष गर्छन् त नि
हामी मानिस मौन छौॅ मुलकको हिस्सा हडप्दा पनि ।
कैले फिर्दछ चेतना सुन सबै ए देशवासीहरू !
‘मेरो सङ्कट’बन्छ भोलि’सबको चिन्ता’ममात्रै गरूॅ’ ?
प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहीबार ११:४६