सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा कुमारी अर्यालले अहिलेको निर्वाचन प्रणालीमा महिलाले पुरुष संगै प्रतिस्पर्धा गर्न निकै समस्या रहेको बताउनुभएको छ । इच्छा, क्षमता र हिम्मत हुँदाहुँदै पनि महिलाहरु अहिलेको निर्वाचन प्रणाली अनुसार चुनाबी प्रतिस्पर्धा गर्न नसकेको उहाँले बताउनुभयो ।

सञ्चारिका समूहको आयोजनामा बुधबार वीरेन्द्रनगरमा भएको महिला राजनीतिज्ञसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नर्वाचन प्रणालीले महिलालाई प्रतिस्पर्धामा जान समस्या बनाएको बताउँदै निर्वाचनका बेलामा महिलाले महिलाको मर्मलाई बुझेर महिला बाधक नबन्नुपर्नेमा आग्रह गर्नुभयो । ‘अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने अवस्था आएको छ, उहाँले भन्नु भयो त्यसैले गर्दा यसमा पुनःविचार गरेर अघि बढ्नुपर्ने हुन्छ ।’
मन्त्री अर्यालले महिलाहरुलाई हरेक क्षेत्रमा प्रतिस्पर्धा र चुनौती रहेको जनाउँदै महिलाहरुले आफ्नो क्षमताको विकास गर्दै जाने र मैले गर्न सक्छु भन्ने आँटका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले निर्वाचनसँग जोडिएको निर्वाचन प्रणालीको विषयमा बहस गर्न जरुरी रहेको बताउँदै निर्वाचनमा सबैको समान प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने जनाउनु भयो । उहाँले भन्नु भयो ‘हाम्रा पुराना सोचलाई हटाउँदै हामिले पनि केही गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढ्न जरुरी छ ।’
मन्त्री अर्यालले महिला आन्दोलनका कारण ल्याएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताउनु भयो । ‘हामीले आफ्नो पदमा बसेर काम गर्न सकेनांैँ भने हाम्रा भावी पुस्तालेसमेत पत्याउँदैनन्, उहाँले भन्नुभयो, त्यसैले हामीले हाम्रो क्षमतालाई उजागर गरेर देखाउन जरुरी छ ।’
कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले कर्णाली संसदमा महिलाको अर्थपूर्ण सहभागिता रहेको जनाउँदै यसका लागि महिला सांसद एकढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो । महिला दोहोरो जिम्मेवारीका कारण पुरुष समान निर्वाचनमा होमिन असहज भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उहाँको जोड थियो । प्रदेश सभा सदस्य पद्मा खड्काले पार्टीमा महिलालाई प्रत्यक्षमा टिकट पाउन मुस्किल रहेको बताउनुभयो । महिलाहरुमा क्षमता, दक्षता हुँदा हुँदैपनि पार्टीले प्रत्यक्ष उम्मेदारमा उठाउन हिच्किचाउने गरेको उहाँले बताउनुभयो । कतिपय महिलाहरु समानुपातिकमा सिट सुरक्षित भईहाल्ने भन्दै प्रत्यक्षमा उठ्न नचाहने उहाँको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकालले संविधानले महिला सुनिश्चत गरेका पदमा बाहेक अन्य पदमा महिलाले स्थान पाउन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियोभने कार्यक्रमको सहजीकरण सञ्चारिका समूहका निर्वतमान अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियो ।
प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार १६:५२