सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेदिक औषधालयमा भएका उपकरणसमेत सञ्चालन गर्ने जनशक्ति छैन । औषधालयमा आयुर्वेदिक प्राविधिक कर्मचारी अभावले उपकरण सञ्चालन नहुँदा विरामीको उपचारमा समस्या हुने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका र जिल्ला समन्वय समिति सुर्खेतको सहयोगले जेनतेन सञ्चालनमा रहेको प्रदेश आयुर्वेदिक औषधालयले आयुर्वेदिक औषधी उत्पादन गर्न सकेको छैन् । बजेट र जडिबुटीको अभावले विरामीलाई उपचार गर्न नसकेको औषधालयका आयुर्वेद चिकित्सक डा. शंकरप्रसाद रिजालले बताउनु भयो ।
चौबिसै घण्टा प्रदेश सरकारको आँखा पर्ने प्रदेश आयुर्वेदिक औषधालयमा भौतिक संरचना र आवश्यक जनशक्ति छैन । जिल्लाको औषधालयमा २ जना वैद्य छन् भने त्यो भन्दा ठूलो प्रदेशको औषधालयमा एक जना मात्रै वैद्य छन् । भएका उपकरण पनि बर्षौ देखि बिग्रेर थन्कीदा औषधी उत्पादन कार्य ठप्प छ । अहिले औषधालयबाट एक जना डाक्टरले मात्रै सेवा दिइरहेको डा. रिजालले जनाउनु भयो ।
आयुर्वेद चिकित्सक डा. रिजालका अनुसार आयुर्वेदिक अस्पतालमा विशेषगरी सुर्खेत, अछाम, दैलेखका वृद्धवृद्धाहरु उपचारका लागि आउने गरेका छन् । वृद्धवृद्धाहरु मध्ये धेरै जसो महिलाहरु सेतोपानी बग्ने, अम्लपित्त, आन्द्राका समस्या, हार्डजोर्नी लगाएतका विरामी आउने गरेको डा. रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामी कहाँ धेरैजसो वृद्धवृद्धाहरु आउँछन्, त्यो मध्ये पनि महिलाहरु धेरै आउँछन् ।’ अन्यत्र उपचारबाट निको नभएका दिर्घ रोगी बिरामीहरु धेरै आउने गरेका डा. रिजालले बताउनु भयो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रायलका मन्त्री दल रावलले कर्णालीको जडिबुटी प्रशोधन गरी औषधी उत्पादन गर्ने औषधालय स्तरोन्नती गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउने योजनामा रहेको बताउनु भयो । उहाँका अनुसार प्रदेश सरकारले आयुर्वेदिक औषधालयलाई ५० शैयाको अस्पतालको रुपमा विकास गरी आवश्यक जनशक्ति र भौतिक संरचनाको व्यवस्था गर्ने लक्ष लिएको छ । ‘अबको २÷३ वर्षमा कर्णालीको आयुर्वेदिक औषधी भनेर देशभरी विक्री वितरण गर्न पाउँछौ, उहाँले भन्नुभयो, ‘सकेसम्म अन्तर्राष्ट्रिय बजारमा लैजान्छौ यसका लागि योजनाका साथ छिटै नीतिगत निर्णयमा पुग्छौ ।’
प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार १२:००