मुगु । शान्ति सुरक्षाका लागि नेपाल प्रहरीले समुदायसंग हातेमालो गर्दै संचालन गरेका कार्यक्रम मध्ये समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुले तिन महिनामा सम्पादन गरेका कार्य प्रगतिको शुक्रवार सार्वजनिकिरण कार्यक्रममा उपस्थित सर्वसाधारण र सरोकारवालाले नेपाल प्रहरीले संचालनमा ल्याएको प्रहरी समुदाय साझेदारी कार्यक्रम प्रभावकारी भएको बताएका हुन् ।
छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले स्थानीय तहसंग साझेदारीमा विभिन्न कार्यक्रम गर्न हस्ताक्षर भएको र ०७६/०७७ को बजेट तथा कार्यक्रममा जनचेतना जगाउन, प्रहरी चौकीमा शौचालय बनाउन र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन बजेट विनियोजन गर्नुकासाथै राष्ट्रिय विभिन्न दिवस तथा कार्यक्रममा समन्वय, सहकार्य गर्दै आएको बताउनु भयो ।
विगतभन्दा ३ महिना यता जिल्लामा अपराधिक घटना नियन्त्रणमा सुधार आएको, लागु औषध तथा मदिरा सेवनमा जनचेतना जगाउने खालका कार्यक्रम प्रहरीले समुदायसंग मिलेर गर्नाले स्थानीय तहमा लागु औषध सेवन र मदिरा सेवन गर्नेको संख्या घट्दै गएको मेलमिलाप केन्द्रका संयोजक प्यारीलाल काफ्लेले बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले जिल्लामा बाढी पहिरोबाट २ करोड १५ लाख ८४ हजार बरावरको क्षति भएको, विभिन्न अपराधमा संलग्न १३ जना विरुद्घ मुद्दादर्ता गरेको, कुटपिट सम्बन्धी केस फारम भएका ३० घटना मध्ये २७ घटना फछ्र्यौट भएको, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी ७ निवेदन दर्ता भएको, लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम ३०, महिला हिंसाका १०, बालविवाहका १२, घरेलुहिंसा ९, लैगिक १२, मानव वेचविखन ३२ र मादक पदार्थ सेवन विरुद्घ ९ वटा निवेदन दर्ता भएको उल्लेख गर्नु भयो ।
बस्तीबस्ती र टोल टोलमा शान्ति सुरक्षा कायम गरि प्रत्यक्षरुपमा जनतालाई सुरक्षाको अनुभुति गराउन स्थानीय सरकारको साझेदारीमा जिल्ला, नगरपालिका गाउँपालिका, वडा, बस्ती र विद्यालयमा गरि २ सय ३२ वटा प्रहरी समुदाय समिति गठन गरिएको पनि प्रहरी नायव उपरीक्षक साहले प्रस्तुत गर्नु भएको कार्य सम्पादन प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा सूचनाकोे हक सम्वन्धी सार्वजनिक निकायले कुनै चासो नदिई रहेको बेला जिल्ला प्रहरी कार्यालयले झगझकाएको र सूचना आयोगबाट प्रत्येक तिन महिनामा सरकारी तथा गैर सरकारी कार्यालयले आफ्ना कार्य प्रगति सार्वजिक गर्न लगाउने परिपत्रअनुसार कार्यालयलाई पत्रचार गरिएको र तिहार लगतै त्यसको अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो ।
प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार १७:५२