सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्ने तिब्बतका कम्पनीहरूसँग छलफल भएको जानकारी दिनु भएको छ । १० दिने तिब्बत भ्रमण सकेर स्वदेश फर्किनु भएका मुख्यमन्त्री शाहीले बिहीबार आयोजित पत्रकार सम्मलेनमा ती कम्पनीहरुले एकीकृत बस्ती विकास, कृषि, पूर्वाधार, पर्यटन र जडिबुटीमा चासो राखेको बताउनु भयो ।
साथै उहाँले चीन भ्रमणमा हिमालयसँग जोडिएका विभिन्न देशहरूको सहभागितामा आयोजना गरेको बिआरआइसम्बन्धी तीन दिने कार्यक्रममा सहभागी भएको बताउँदै भ्रमणका क्रममा तिब्बतका विभिन्न सहरमा भएका विकास पूर्वाधार सम्बन्धी भौतिक संरचनाहरूको अवलोकन गरेको शाहीले बनाउनु भयो ।
मुख्यमन्त्री शाहीले स्मार्ट सिटी बनाउनका लागि सुर्खेतको रिङरोड र सुर्खेत-बर्दियासम्मको सुरुङमार्गको लागि निःशुल्क सर्वे गरिदिन तिब्बत सरकारसँग आग्रह गरेको बताउनु भयो । ‘स्मार्ट सिटी बनाउनका निमित्त कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको शुरुङमार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसँग छलफल गरेँ,’ उहाँले भन्नु भयो, यो विषयमा त्यहाँको सरकार सकारात्मक छ।’
उहाँले संघीय सरकारले अनुमति दिएमा तिब्बत सरकारको लगानीमा सुर्खेतमा रिङरोड बनाउने सहमति हुने जनाउनु भयो । तिब्बतका विभिन्न क्षेत्रमा पूर्वाधार सम्बन्धी काम गरेको कम्पनीसँग आफूले छलफल गरेको मुख्यमन्त्री शाहीले बताउनु भयो ।
तिब्बतमा विकास हुनुको मुख्य कारण एकीकृत बस्ती रहेको बताउँदै उहाँले कर्णाली प्रदेशमा विकास गर्नका लागि एकीकृत बस्तीको आवश्यकता रहेको बताउनु भयो । कर्णाली प्रदेशमा एकीकृत बस्तीका लागि कस्तो मोडलमा काम गर्ने भन्ने विषयमा छलफल भएको पनि उहाँले जनाउनु भयो ।
‘एकीकृत बस्तीबारे त्यहाँको सरकारले आफ्नो अनुभवसहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ, संघीय सरकारले त्यसको अनुमति दिएमा धेरै सम्भावना छ,’ उहाँले भन्नुभयो ‘उनीहरूले एकीकृत बस्तीको विकास गर्न धेरै राम्रा घरहरू बनाएका रहेछन ।’
मुख्यमन्त्री शाहीले भन्नु भयो, ‘एकीकृत बस्ती विकासको बारेमा संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा नेपालमा पनि बनाइदिन सक्ने त्यहाँका कम्पनीहरूले चासो देखाएका छन् ।’
प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहीबार १६:२१