मुगु । छायाँनाथ रारा नगरपालिकाले बाढीपीडित राहत सामग्री वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ र ७ का बाढीपीडित घर परिवारलाई ३० किलोग्राम चामल र १ पाकेट तेल वितरण गरिएको छ ।
बुधवार बालैं बगरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शाहीले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो । वर्षाका कारण गत साउन ३२ गते वडा नं ६ बालैं र वडा नं ७ पिना लगायत वडा नं १ श्रीनगर र वडा नं ४ भामवाडाका कृषकको अन्नबाली सहितका १ सय भन्दा बढी खेत गडा, काठेपुल, घट्ट बगाएर क्षति पुर्याको थियो ।
आफ्ना खेतीयोग्य जमिन बगरमा परिणत भएपछि स्थानीय बासिन्दा चिन्तित बनेका थिए । नगर क्षेत्र भित्रका नगरबासीको जग्गा, जमिन बगरमा परिणत भएपछि आफू निकै चिन्तित बनेको बताउँदै नगर प्रमुख शाहीले थोरै भएपनि पीडित परिवारको आँसु पुछ््न दुखेको मनलाई सान्तोना दिन यो राहत सामग्री वितरण गरेको बताउनु भयो ।
यस्तो राहत सामग्रीले खासै क्षणिक छाक टार्न मात्र हुने भएकाले बाढी प्रभाबित क्षेत्रमा तटबन्धन लगायत कृषि आयआर्जनका कार्यक्रम लागु गर्नको लागि आफु प्रतिवद्ध रहेको पनि नगर प्रमुख शाहीले बताउनु भयो ।
सोही राहत वितरण कार्यक्रमा वडा नं ४ का वडा अध्यक्ष बिष्णुकुमार भामले देशमा तिन तहको सरकार भएपनि प्रदेश र संघीय सरकारले यसक्षेत्रका बाढीपीडितलाई राहत दिनु पर्ने धारणा राख्नु भयो । वडा नं ७ का वडा अध्यक्ष हरिचन्द्र शाहीले वास्तविक पीडितले राहत पाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
वडा नं ६ का वडा अध्यक्ष सुत्तबहादुर ऐडीको अध्यक्षतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो । राहत स्वरुप चामल र तेल पाएपछि पीडित खुशी भएका छन् । बालै, कोट्टिला, तलिघुईर, पिनाका गरि २ सय ३० घरधुरीलाई राहत वितरण गरिएको बताईएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार १९:३१