सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय संकटमा परेको छ । माध्यमिक तह सञ्चालनमा रहेको मदरसा मदिना विद्यालय सरकारले दिदैँ आएको अनुदान कटौती भएपछि संकटमा परेको हो ।
वीरेन्द्रनगर १० बेलघारीमा रहेको मुस्लिम समुदायको विद्यालय अहिले दयनीय अवस्थामा छ । २०६३ साल देखि खोलेको मदिना स्कुल चन्दा र अनुदानको भरमा चलिरहेको छ । विद्यालयमा ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा उर्दु, अरवी, अंग्रेजी र नेपाली भाषामा अध्ययन अध्यापन हुदैँ आईरहेको छ । आवश्यक दरबन्दी, भाषागत शिक्षक नहुँदा र सरकारले दिदैँ आएको अनुदान रकम कटौती भएपछि मदरसा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।
विद्यालयका २० जना कर्मचारी मध्ये ९ जनालाई सरकारी अनुदानको रकमबाट र अन्य कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलव खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले बताउनु भयो । मदरसा सञ्चालनमा कठिनाई भएपछि आधुनिक शिक्षामा समायोजन गरि सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरवन्दी दिने भनिएपनि आवश्यक शैक्षिक सहयोग नपाएर समस्या भएको उहाँको भनाई छ ।
प्राथमिक र निम्न माध्यमिक विद्यालय मात्रै सञ्चालन गर्दा मुस्लिम समुदायका विद्यार्थीहरुले पढाइ छोड्ने भएपछि माध्यमिक तहसम्म सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनु भयो । माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार तथा शिक्षकको अभावमा विद्यालय सञ्चालन गर्न सकस भएको उहाँको भनाई छ । सरकारले दिदै आएको अनुदान पनि कट्दै जानुले थप समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनु भयो ।
नेपाल सरकारले दिदै आएको अनुदान रकम कटौती भएपछि विद्यालय सञ्चालनमा कठिनाई भएको नगर शिक्षाका उपसचिव ललितविक्रम सिंहले जनाउनु भयो । सुर्खेतमा दुई वटा मदरसा सञ्चालन हुदै आएका छन । त्यस मध्ये मदरसा फैजुल प्राथमिक विद्यालय वीरेन्द्रनगरमा कुनैपनि शिक्षक दरवन्दी र अनुदान छैन भने मदरसा मदिना माध्यमिक विद्यालय बेलघारीमा साढे पाँच लाख अनुदान रकम आएको उपसचिव सिंहले बताउनु भयो ।
मदरसा फैजुल प्राथमिक विद्यालयमा शिक्षकको दरवन्दी र सरकारले दिने अनुदान समेत नआएकाले बन्द हुने अवस्थामा पुगेको छ । नगर शिक्षा उपसचिव सिंहका अनुसार माध्यमिक विद्यालय र प्राथमिक विद्यालय मदरसामा आवश्यक अनुदान र शिक्षकको दरवन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाई भएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार १५:२०