सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतकोे वीरेन्द्रनगर बजारभित्र फोहर व्यवस्थापन गर्नका लागि यहाँका बासिन्दाले अनिवार्य डस्टविन राख्नुपर्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर वडा नं. ६ कार्यालय, टोल विकास समिति, उद्योग वाणिज्य संघ, वडा सदस्यहरु र व्यवसायीको सहमतिमा बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्न सबैले डस्टविन राख्नुपर्ने निर्णय गरिएको छ ।
वीरेन्द्रनगर बजारमा व्यवसायी तथा घरबाट अव्यवस्थित रुपमा फाल्ने गरिएको फोहर व्यवस्थापन गर्नका लागि सबैले अनिवार्य डस्टविन राख्नुपर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिनु भयो । ‘वीरेन्द्रनगर प्रदेशकै राजधानी भएपनि व्यवसायी र घरभेटीले छाडारुपमा घर, पसल अगाडि फोहर फाल्ने गरेको देखियो,’ उहाँले भन्नुभयो, ‘यो अव्यवस्थित अवस्थालाई व्यवस्थापन गर्न सबैले डस्टविन राख्नुपर्ने र नराखेमा ऐनबमोजिम कारबाही गर्ने निचोड निकाल्याैँ ।’ यसका लागि शनिवारदेखि लागू हुनेगरी पाँच दिनको म्याद दिइएको शर्माले जनाउनु भयो ।
उहाँका अनुसार उक्त समयभित्र सबैले फोहर व्यवस्थापनका लागि डस्टविन अगाडि राखेको हुनुपर्नेछ । उहाँले भन्नुभयो ‘यदी अटेर गरेको पाइएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ र वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालयको कार्यविधी अनुसार कारबाही गरिने छ ।’ उहाँले बजार क्षेत्रका घरहरुमा व्यवसाय गर्ने व्यवसायी, व्यवसाय नभएको घर भए घरभेटीले, ठेलामा व्यवसाय गर्ने व्यवसायी, घुम्ती पसल, यातायात व्यवसायीले काउण्टर तथा सार्वजनिक सवारी साधनमा फोहर फाल्न डस्टविन राख्नुपर्ने बताउनु भयो ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (छ) मा घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्न नहुने उल्लेख छ । यस्तो कार्य गरेको अवस्थामा स्थानीय तहले पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ ।
यस्तै वीरेन्द्रनगर–६ ले तयार पारेको फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यविधीमा व्यवसायी तथा घरधनीले अव्यवस्थित रुपमा फोहर फालेमा सुरुमा पाँच सय रुपैयाँ जरिवानाको व्यवस्था गरिएको वडाका सामाजिक परिचालक रेखा केसीले जानकारी दिनु भयो । उहाँका अनुसार त्यसपछि पनि अटेर गरेमा सोही जरिवानालाई प्रत्येकपटक दोब्बर गर्ने व्यवस्था कार्यविधीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्ता शर्माका अनुसार यसका लागि यही ८ गते संयुक्त सरसफाई अभियान समेत चलाइने छ । यसका अतिरिक्त फोहरमैला व्यवस्थापनका बारेमा प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ लगायतको रोहबरमा अनुगमन गरिने उहाँले जनाउनु भयो । त्यसक्रममा पनि अटेर गरेको पाइएको वडा कार्यालय तथा अन्य सरकारी निकायबाट दिइने सेवासुविधा रोक्का गर्ने गरि प्रक्रिया थालिने शर्माले बताउनु भयो ।
प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार १३:३९