सुर्खेत । मुलुक संघीयतामा गइसकेपछि सरकारले देशका सबै स्थानीय तहमा बैंक स्थापना गर्ने योजना अगाडी सारेसंगै बाणिज्य बैंक स्थापना भएका छन । सोही योजना अनुसार कर्णालीका स्थानिय तहमा पनि बैंक स्थापना भएका छन् ।
बैंक स्थापना भएसँगै कर्णालीमा ५८ प्रतिशत जनता एटिएमको पहुँचमा रहेका छन् । प्रदेश राजधानीमा भने २५ प्रतिशत नागरिक एटिएम सेवाको पहुँचमा रहेका छन्भने सल्यानमा नौ प्रतिशत, जुम्लामा ६ प्रतिशत, दैलेखमा पाँच प्रतिशत, कालिकोट र रुकुम पश्चिममा चार-चार प्रतिशत, जाजरकोटमा तीन प्रतिशत, मुगु र हुम्लामा एक÷एक प्रतिशत नागरिक एटिएमको पहुँचमा पुगेको नेपाल राष्ट्र बैंक नेपालगंज शाखाले जनाएको छ ।
बैंक स्थापना भएसँगै आम सर्वसाधारणलाई बैंकिङ् कारोबार गर्न सहज भएको छ । बैंक स्थापना भएसँगै घण्टौँ लगाएर सदरमुकाम जानु पर्ने बाध्यता टरेको छ ।
कालिकोटको शुभकालिका गाउँपालिकाका स्थानिय राजबहादुर शाहीले बैंकिङ कारोबार गर्नका लागि तीन घण्टाको बाटो हिडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता सुनाउनुहुन्छ, तर अहिले स्थानिय तहमै बैंक स्थापना भएसँगै बैंकिङ् सेवा छिटो छरितो र सहज रुपमा लिन पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । शाही जस्तै मुगुको सोरु गाउँपालिकाका स्थानिय जितेन्द्र बमलाई पनि स्थानिय तहमा बैंक स्थापना भएसँगै सेवा लिन निकै सहज भएको छ ।
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमा नै बैंक स्थापना भएपछि स्थानीय तहलाई समेत बैंकिङ् कारोबारमा सहज भएको छ । जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बैंक स्थापना भएसँगै सामाजिक सुरक्षाभत्ता संगै अन्य बैंकिङ कारोबारमा समेत सहजता भएको बताउनु भयो ।
कर्णालीमा सबै स्थानीय तहमा बैंक स्थापना भएपनि जाजरकोटको जुँनिचादे गाउँपालिकामा भने गाउँपालिकाको केन्द्र तोक्ने विषयमा नै विवाद कायमै भएपछि बैंक सञ्चालनमा केही समस्या आएको नेपाल राष्ट्र बैंक शाखा नेपालगंजका उपमहानिर्देशक शिव घिमिरेले जनाउनु भयो । उहाँका अनुसार केन्द्र तोकिएपछि उक्त ठाउँमा बैंक स्थापना हुनेछ ।
भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा बैंक स्थापना गर्न त्यती सहज भने थिएन् । कतिपय स्थानिय तहमा एयर लिफ्टिङ मार्फत सामान ओसार पसार गरेरै भएपनि बैंक स्थापना गरिएको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार १५:३३