सुर्खेत । सरकारले विद्युतको मिटर जडान गर्न अनिवार्य जग्गा धनी पूर्जा र सम्बन्धित वडाको सिफारिस हुनुपर्ने व्यवस्था गरेको छ । तर, सुर्खेत उपत्यकाभित्र भने सरकारी जग्गा अतिक्रमण गरि बसेका सुकुम्वासीहरुले विना जग्गा धनी पूर्जा विद्युत तथा पानी सहजै जडान गरेका छन् ।
सुर्खेतको चारलेन सडक छेवैमा रहेको सुकुम्वासी बस्ती करिव एक दशक अघिदेखि बस्दै आएका उनीहरुसंग जग्गा धनी पूर्जा छैन । उनीहरुले अतिक्रमण गरेको जग्गा सुर्खेत क्याम्पस शिक्षाले भोग चलन गर्नेगरी उपत्यका नगर विकास समितिले दिएको छ । उनीहरुले विद्युत र पानीको लाइन जडान गरिसकेका छन् । जसले गर्दा, अव उनीहरुलाई त्यहाँबाट उठाउन निकै चुनौती देखिएको छ । स्थानीय तहको सिफारिसमा विद्युत र पानी जडान गरि व्यवस्थित बासोबास गरेकाहरुलाई पटक–पटक उठाउने गरिएको प्रयोससमेत विफल भएको क्याम्पस प्रसासनले जनाएको छ ।
‘नगर विकासको जग्गा भोग चलनका लागि हाम्रो क्याम्पसलाई दिएको हो । पछिल्लो समय अतिक्रमण हुदैँ गएको छ ।, क्याम्पस प्रमुख भुपेन्द्र शाहीले भन्नुभयो, ‘पटक पटक हामीले अतिक्रमितहरुलाई सार्न नगरपालिका, प्रशासन धाउँदै आएका छौँ तर हाम्रो माग अहिलेसम्म सुुनुवाई भएको छैन ।’
सुर्खेतका सुकुम्वासीहरुले विभिन्न सरकारी कार्यालयका नाममा रहेको झण्डै ४ विगाह जग्गा अतिक्रमण गरेर व्यवस्थित बसोवास गरेका छन् । पूर्जा विनाको जग्गामा बस्दै आएको यो बस्तीमा वार्षिक पाँच सय बढी विद्युत मिटर र धारा जडान गरिएको छ । स्थानीय तहले सुकुम्वासीहरु बसेको स्थानमा विद्युत जडान गर्ने सिफारिस दिएको आधारमा दुई हजार धरौटी लिएर मिटर जडान गरिदिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । ‘स्थानीय तहको सिफारिस र दुई हजार धरौटीको आधारमा विद्युतको मिटर जडान गर्ने गरेका छौँ । वितरण केन्द सुर्खेतका प्रमुख टंकराज गिरीले भन्नुभयो, ‘उपभोग गरेवापत रकम तिरे नतिरेको हेर्छाै, यदि नतिरेको भए धरौटी वापतको रकम जफत हुन्छ ।’
सरकारलेनै विद्युतको मिटर जडानका लागि जग्गा धनी लालपूर्जा अनिवार्य भनेको छ । अन्य नागरिकलाई लालपूर्जा, तिरो तिरेको रसिद विना मिटर र धारा जडान गर्न स्थानीय निकायले सिफारिसनै गर्दैन । तर सुकुम्वासीलाई भने विद्युत तथा खानेपानी जडान गर्न आवश्यक कागजात विनै जडान गर्ने अनुमति दिइने गरिएको छ ।
स्थानीय सरकारका रुपमा रहेका वडा कार्यालयले सामान्य सिफारिसका आधारमा मिटर जडान गर्ने बाटो खुलाईएको हो । वीरेन्द्रनगर वडा नं. ८ मा रहेको वडा कार्यालयले अस्थायी रुपमा विद्युत र धारा जडान गर्न सिफारिस दिएको जनाएको छ । ‘न्युनतम आधारभूत आवश्यकताबाट बञ्चित गरिनुहुन्न भनेर हामीले सिफारिस दिने गरेका छौँ । त्यसैको आधारमा अस्थायी रुपमा विद्युत र धारा जडान हुने गरेका छन् ।’ वडाध्यक्ष थम्बप्रसाद गौतमले भन्नु भयो ।
प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार १२:२६