सुर्खेत । स्वास्थ्य बीमा संचालनमा रहेको कर्णालीमा प्रदेश सरकारले सामुहिक विपद् दुर्घटना बीमा कार्यक्रम लागु गरेको छ । संघीय सरकार मातहत रहेको राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड कर्णालीमा रहेपनि प्रदेश सरकारले समन्वय नै नगरी नाफा मूलक बीमा कम्पनीसंग सम्झौता गरेको हो । अधिकांश दुर्गम र भौगोलिक विकट रहेको प्रदेशमा केही वर्षदेखि स्वास्थ्य विमा कार्यक्रम संचालनमा छ ।
प्रदेश सरकारले सरकारकै मातहत रहेको स्वास्थ्य बीमा बोर्डसंग समन्वय र सहकार्य नगरी विपद् दुर्घटना बीमा कार्यक्रम लागु गरेको स्वास्थ्य बीमा बोर्ड, कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी सुर्जन रोकायाले बताउनुभयो ।
‘प्रदेश सरकारले बीमा कार्यक्रम सुरु गर्दै छ भन्ने थाहा पाएर एक महिनाअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पुगेका थियौँ ।’ उहाँले भन्नु भयोे, ‘सामान्य छलफलपछि मन्त्रालयले अहिले कार्यक्रम सुरु नभइसकेको पछि समन्वय सहकार्य गर्ने सरकारले आश्वासन दिएको थियो । अहिले आएर सरकारमार्फत नै संचालनमा रहेको स्वास्थ्य बीमा बोर्डलाई जानकारी भएन् ।’
प्रदेश सरकारले अहिले सेवा मूलक स्वाथ्य बीमा बोर्डलाई छोडेर नाफामूलक नीजि बीमा कम्पनीलाई रोजेको उहाँले जनाउनु भयो । ‘सरकारले नै खटाएका हामी नितान्त सेवाका लागि हो ।’ उहाँले भन्नु भयो, ‘सरकारले नै खटाएको बोर्डलाई प्रदेश सरकारले प्रयोग गर्न सक्थ्यो तर, त्यो नभएर नाफा मूलक बीमा कम्पनीसंग सम्झौता गरी कार्यक्रम सुरु गरेको छ ।’
५२ प्रतिशत भन्दा बढी गरिवीको रेखामुनी रहेको कर्णालीमा बीमा कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पक्ष हो । यद्यपी कर्णाली सरकारले सरकारले नै बीमा कार्यक्रमका लागि खटाएको स्वास्थ्य बीमा बोर्डलाई प्रयोग नगर्दा आर्थिक अनियमितामा प्रश्न नउठ्ला भन्न सकिन्न । सरकारले खटाएको बोर्डलाई परिचालन गर्न सके आर्थिक व्यय भारमा कमी हुने देखिन्छ । केही हप्ता अघिमात्रै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीसंग सामुहिक दुर्घटना बीमाका लागि सम्झौता भएको थियो ।
सरकारले ल्याएको बीमा कार्यक्रमबाट नागरिकले १ लाख रुपैयाँको निशुल्क बीमा प्राप्त गर्नेछन् भने, विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने छन् । सामुहिक रुपमा गरिने बीमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम प्रदेश सरकारले बीमा कम्पनीलाई भुक्तानी गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनु भयाे ।
‘म आउनु अघि के भयो भन्ने मलाई थाहा भएन । तर, प्रदेश सरकारले लागु गरेको कार्यक्रम सवैको हो भन्ने बुझ्नु पर्छ ।’ उहाँले भन्नु भयो,‘सरकार एक्लैले मात्रै गरेर हुदैँन सवैको साथ सहयोग र समन्वय आवश्यक हुन्छ ।’
अधिकांश दुर्गम क्षेत्र रहेको कर्णालीमा प्रदेश सरकारले लागु गरेको विपद् दुर्घटना बीमा सवै नागरिकका लागि राम्रो हुने उहाँको भनाई छ । ‘सरकारको सानो सहयोगले पनि आमनागरिकले सुविधा पाउनु राम्रो हो ।’ उहाँले भन्नु भयो, ‘अरु जस्तो झन्झटिलो पनि हुदैँन । बीमा रकम भुक्तानीका लागि प्रदेशमै आउनुपर्दैन । यहाँको नागरिक भइसकेपछि स्वतः बीमित हुने हुन्छ ।’
प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार १६:१९