सुर्खेत । कर्मचारी अभावकै कारण कर्णालीमा विकास बजेट खर्च हुन नसकेको कर्णाली सरकारले जनाएको छ । गत आर्थिक वर्षमा कर्णाली सरकारले जम्मा २४ प्रतिशमात्र बजेट खर्च गरेको भन्दै आलोचना भएको थियो ।
संघीय सरकारले कर्मचारी समायोजनका क्रममा कर्णाली प्रदेशमा १ हजार ९ सय ९२ दरबन्दी छुट्ट्याएपनि सबै कर्मचारी भने आएका छैनन् ।
समायोजन रोजेका १ हजार ३ सय ३४ जना मध्ये ३ सय ९८ जना कर्मचारी अझै आएका छैनन् । कर्णालीमा प्राविधिक कर्मचारीहरु सबै भन्दा कम आउने गरेकाले काम गर्न समस्या हुने गरेको कर्णाली सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताउनु भएको छ । वीरेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर कर्णालीमा कर्मचारी अभावकै कारण विकासमा बजेट खर्च नभएको प्रमुख सचिव भण्डारीले जानकारी दिनु भयो ।
उहाँले कर्णालीमा पिछडिएको क्षेत्र कोटाबाट समायोजन भएका कर्मचारीहरुनै कर्णाली आउन नमान्दा झनै समस्या हुने गरेको बताउनु भयो । धेरै बजेट भौतिक मन्त्रालय अन्तर्गत रहने भएकाले कर्मचारीहरु नहुँदा सडक, सिंचाई खानेपानी लगायतका मुख्य योजनाका काम हुन नसकेको उहाँले जनाउनु भयो ।
प्रमुख सचिव भण्डारीले कर्मचारी भर्ना गर्न संघीय सरकारमार्फत लोक सेवा आयोगलाई आग्रह गर्दापनि संघीय सरकारले चासो नदिँदा समस्या भएको बताउनुभयो । उहाँले कर्मचारी नहुँदा खर्चको अख्तियारी गर्ने काम हुन नसक्दा बजेट खर्च हुन नसकेको दावी गर्नु भयो । कर्णाली प्रदेशलाई कर्मचारीको रोजाइमा पार्न भौगोलिक क्षेत्र हेरेर सेवा सुविधाको व्यवस्था गर्नेगरी छलफल भईरहेको उहाँले बताउनु भयो ।
यस्तै कर्णाली सरकारले एउटा मन्त्रालयका कार्यालयहरू छुट्टाछुट्टै नराखी एकीकृत गरेर काम थालेको छ । एउटै मन्त्रालयमा फरक–फरक ठाँउ राख्दा जनशक्ति धेरै लाग्ने भएकाले एकीकृत कार्यालय स्थापना गरिएको प्रमुख सचिव भण्डारीले बताउनु भयो । उहाँका अनुसार कर्णाली सरकारले अब आफ्ना सबै गतिविधिहरु वेबसाईडमा राखेर छिटो छरितो जानकारी गराउने भएको छ ।
प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलवार ०८:०२