मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्पगाउँमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । आइतवार भएको कार्यक्रम नगर प्रमुख हरिजङ्ग शाहीले बर्थिङ्ग सेन्टर सञ्चालन भएको औपचारिक शुरुवात गर्नु भएको हो ।
गत साउन ४ गते जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले उद्घाटन गर्नु भएको उक्त बर्थिङ्ग सेन्टर आपसी बिवादका कारण बिगत दुई महिना देखि बन्द रहेको थियो ।
पूर्व शिक्षा राज्य मंन्त्री हस्त बहादुर मल्ल, नेकपाका नेता जितबहादुर मल्ल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तिलक बहादुर मल्ल, नेपाली कांग्रेसका सदस्य सिहबहादुर मल्ल अस्पताल व्यवस्थापन समिति ठिनी मुगुका अध्यक्ष पारसमणि मल्ल, बडा अध्यक्ष परेकराज चौलागाई लगायतले विवाद मिलाएपछि बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको हो ।
सोही कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शाहीले व्यवस्थित बर्थिङ्ग सेन्टर सञ्चालनका लागि नगरपालिकाले भवन निर्माण गर्ने बताउनु भयो । बर्थिङ्ग सेन्टर नगरपालिकाको क्षेत्राअधिकार भित्र पर्ने भएकाले यसको संरक्षण सम्बद्र्धन र सञ्चालनको जिम्मा पनि नगरपालिकाको भएको नगर प्रमुख शाहीले बताउनु भयो ।
सोही कार्यक्रमा छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले गाउँमा स्थापना भई सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरबाट गर्भवती महिलाले सेवा लिन सहज भएको बताउनु भयो । उहाँले महिलालाई गर्भ रहेदेखि पटक, पटक गर्भजाँच गराउन आग्रह गर्नु भयो ।
वडा नं १३ का वडा अध्यक्ष चक्रबहादुर सावतको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । गाउँमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार १३:०६