सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध तथा विद्युत गृहको निर्माणको काम सुरु गरिएको छ । आयोजनाले २०८० सालसम्म ४६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माणको कार्यलाई तिव्रता दिएको हो ।
राष्ट्रिय गौरवको आयोजना भेरी बबर्ई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको पहिलो चरणको मेसिनबाट सुरुङ खन्ने काम तोकिएको समयभन्दा एक वर्ष अघिनै सकिएसंगै दोस्रो चरण अन्तर्गत भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत गृह निर्माणको काम सुरु गरिएको हो । बाँध तथा गृह निर्माणका लागि मुख्य चाइनिज कम्पनी रहने गरि गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्ंपनी तथा रमण जेभीसँग आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको पूर्वाधार विकास गर्ने गरी सम्झौता गरेको छ ।
आयोजनाका इन्जिनियर शम्भुराज पण्डितका अनुसार यी दुई कम्पनीले पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्यांकी) र पावर हाउस बनाउने छन् । उहाँले भन्नु भयो ‘कम्पनीले सम्झौता भएको मितिदेखि ४८ महिना भित्र बिजुली उत्पादन गरिसक्नुपर्नेछ ।’ उहाँका अनुसार अहिले कम्पनीले काम गर्न शुरू गरिसकेका छन् ।
निर्माण स्थलमा चाइनिज कम्पनीले शिविर स्थापना गर्न आवश्यक संरचना निर्माण गरिरहेको इन्जिनियर पण्डितले जानकारी दिनु भयो । उहाँका अनुसार पहिलो चरणको जटिल कार्य १२ किलो मिटरको सुरुङ खन्ने काम एक वर्ष अघि सम्पन्न गरिएको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गा धनीलाई मुआब्जा दिने गरि कार्यको अन्तिम तयारी समेत गरिसकेको छ ।
आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गा धनीलाई प्रतिरोपनी दश लाख मुआब्जा दिने गरी कार्य अघि बढाइएको उहाँको भनाइ छ । डुवान क्षेत्रमा पर्ने जग्गाको मुल्याकंन गर्ने समितिले अधिकतम रोपनीको दश लाखसम्म उपलब्ध गराउने गरि प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन पेश गरिसकेको इन्जिनियर पण्डितले बताउनु भयो । मुआब्जाकालागि ऐलानी, दर्ता जग्गा र सडकको पहुँच भए नभएको आधारमा मुल्याङकन गरिने उहाँको भनाई छ । पण्डितका अनुसार त्यसका लागि आयोजनाले ८५ करोड भन्दा बढी बजेट खर्च गरिरहेको छ ।
‘प्रभावित क्षेत्रका जनता भेरी करिडोर अन्तर्गत ६० करोड तथा बबई करिडोर अन्तर्गत २५ करोड रुपैयाँ विनियोजन भइसकेको छ,’ उहाँले भन्नु भयो, ‘त्यो बजेट आयोजनाले प्रभाव पार्ने पीडित जनताका लागि राहत अन्तर्गत साना सिंचाई आयोजना, तटबन्ध निर्माणका कामहरुमा तीव्रता दिने योजना हो ।’
आयोजनाले ड्याम निर्माण स्थानमा १२ मेघावाट बिजुली निकाल्न सकिने जनाएको छ । ‘मुहानको बाँधबाट ४० क्युसेक पानी ट्यांकीबाट खसाल्दा १२ मिटर उचाईमा खस्ने छ,’ इन्जिनियर पण्डितले भन्नु भयो, ‘त्यसका लागि हामीले प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । ५ अर्ब बजेट भएको खण्डमा उक्त आयोजना निर्माण गर्न सकिन्छ ।’
उहाँका अनुसार अहिलेसम्म उक्त योजनाको छलफल चलिरहेको छ । ‘प्रदेश सरकारले आयोजनालाई डिपिआर बनाउन अनुरोध गरेको छ । ’सरकारले नीति तथा कार्यक्रममा पनि उक्त कुरा ल्याइसकेको छ,’ उहाँले भन्नु भयो, ‘त्यसका लागि आयोजना र सरकारबीच छलफल चलिरहेको छ । आयोजनामा लगानी सरकारले गरेपनि हुन्छ । सरकारले आयोजनाबाट निर्माण गर्न चाहेपनि हामीहरु तयार छौं ।’
आयोजनाले पूर्वी बर्दियामा १५ हजार हेक्टर जग्गाको सिंचाईका लागि चेपाङदेखि बर्दियाको मानखोलासम्म २ किलोमिटर सुरूङ निर्माण गर्नसके त्यसबाट थप ८ मेघावाट बिजुली उत्पादन गर्न सकिने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार २१:०४