सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कांग्रेसले गरेको जागरण अभियानले निकै उत्साह थपेको बताउँदै पार्टी भित्रको संस्थागत सुधार गर्नेतर्फ लाग्नुपर्ने बताउनु भएको छ ।
गत भदौ २४ गते देखि सुर्खेत सहित देशभर शुरुभएको दोस्रो राष्ट्रिय जागरण अभियानको मंगलबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले गाउँमा जनता एकजुट भएपनि नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्जोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गर्नु भयो । उहाँले पार्टीभित्र अनुशासन हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दै अनुशासन बिनाको पार्टीले जनताको मन जित्न नसक्ने बताउनु भयो ।
कर्णाली प्रदेसभाका संसदीय दलका नेता समेत रहनुभएका नेता शाहीले सरकार एक पछि अर्को काण्ड निम्त्याउँदै जनतामा निराश थप्दै गएको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस सुर्खेतका पूर्व पार्टी सभापति एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले जागरण अभियानले कांग्रेसमा नयाँ सन्देशको आशा पलाएको भन्दै सशक्त भएर अगाडी बढ्न् नेतृत्वलाई आग्रह गर्नु भयो । उहाँले पार्टी भित्र एकले अर्कोलाई सम्मान नगर्ने परिपार्टीलाई अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो ।
नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान तथा बिरोध सभामा सुर्खेतका दुई क्षेत्र अन्तर्गतरहेका चारवटा प्रदेशमा अभियान सञ्चालनपछि मंगलबार सुर्खेतमा अभियानको समापन गरिएको हो ।
कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधिहरु मानबहादुर नेपाली, कालीबहादुर सहकारी, जगतजंग थापा र निरन्जन सिजापतीले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने र पार्टीको आन्तरिक कलह मेटाउनुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार २०:१५