सुर्खेत । छिन्चु तेक्वान्दो दोजाङबाट काठमाडौंमा गत भदौमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उधारो खर्चमा पठाएका १२ जना खेलाडीमध्ये ८ जनाले पदक जित्न सफल हुनु भएकाे छ ।
तीन खेलाडीले स्वर्ण, चार जनाले रजत र एक जनाले काँस्य पदक जित्नु भएकाे छ । दिनेश मगर, शिव परियार र महेन्द्र सुनारले स्वर्ण पदक प्राप्त गर्नु भएकाे छ भने हेमन्त बाकावल, तिलक सुनार, पार्वती विक, जोहन रानाले रजत पदक र भरत सुनारले काँस्य पदक जित्न सफल हुनु भएकाे हाे ।
दोजाङका मुख्य प्रशिक्षक अमर विकले प्रतियोगितामा सहभागी गराउनका लागि खर्च नभएपछि खेलाडीहरुलाई गाडीभाडा र खाना खर्च उधारोमा पठाइएको बताउनुभयो । कसैको सहयोग विनापनि खेलाडीहरुले पदक जित्न सफल भएपछि खुशियालीमा खेलाडीहरुलाई मंगलवार दोजाङले सम्मान गरेको छ ।
खेलाडी सम्मान कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले दोजाङका लागि स्थानीय तहले जग्गाको व्यवस्थापन गर्न सके प्रदेश सरकारबाट आवश्यक भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यले खेलकुदलाई पूर्णरुपमा उपेक्षा नगरेको भन्दै हुनुपर्ने जति सहयोग नगरेको स्वीकार गर्नु भयो ।
कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष एवं सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले खेलाडीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले बेलाबेलामा आफूले पनि खेलाडीहरुलाई सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यो कार्यलाई निरन्तरता दिने जनाउनु भयो ।
कार्यक्रममा भेरीगंगा नगरकार्यपालिकाका सदस्य एवं वडा नं. १ का वडाअध्यक्ष नवराज कार्की, वडा नं. १२ का वडाअध्यक्ष हरिप्रसाद कँडेलले नगरपालिकाको तर्फबाट अवका दिनमा खेलकुदका लागि आवश्यक सहयोग गर्नेै प्रतिवद्धता जनाउनु भयो ।
पत्रकार महासंघका अध्यक्ष गणेशकंचन भारतीले पनि खेलाडीहरुलाई हौसला र सहयोगको आवश्यकता रहेकोमा जोड दिनु भयो । सो अवसरमा पदक बिजेताहरुलाई सम्मान गरिएको थियो । स्वर्ण पदक विजेताहरुलाई कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष लक्ष्मण कँडेलले उपहारसमेत प्रदान गर्नु भएको थियो । दोजाङ संचालन समितिका अध्यक्ष लोकबहादुर खत्रीले पनि खेल क्षेत्रलाई उपेक्षा गरिएको बताउनु भयो । उहाँले खेलबाटै आफ्नो ठाउँको पहिचान दिन सकिने भएकोले खेलकुद क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नु भयो ।
प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार १७:५५