सुर्खेत । कर्णाली प्रदेशका दशा जिल्लाका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय अभियान सुरु भएको छ । प्रविधिमा पछि परेका कर्णालीका बालबालिकाहरुलाई प्रविधि युक्त शिक्षा प्रदान गर्नका लागि विद्युतीय पुस्तकालयको अभियान सुरु गरिएको हो ।
सोमबार वीरेन्द्रनगरमा पिडी स्मार्ट एजुकेशनले आयोजना गरेको कार्यक्रममा उक्त विद्युतीय पुस्तकालय अभियानको बारेमा जानकारी गराईएको हो । विज्ञान र व्यबस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विद्युतीय पुस्तकालय उपयोगी रहेको अभियानका अध्यक्ष गणेश जोशीले बताउनु भयो । उहाँका अनुसार विद्युतीय पुस्तकालयका लागि विद्यालयले पिडी स्मार्टलाई दश हजार रुपैया तिर्नुपर्ने हुन्छ । उहाँले व्यक्तिगत सेवाका लागि भने दुई हजार छुटै तिर्नुपर्ने जनाउनु भयो । अध्यक्ष जोशीका अनुसार पुस्तकालयका लागि रकम तिरेपछि विद्यार्थीले घरमा बसेर अध्ययन गर्न पाउनेछन् । उहाँले भन्नु भयो ‘रकम जम्मा हुनेवित्तिकै पासवर्ड दिनेछौँ र त्यसको माध्यम मार्फत विद्यार्थीले आफ्नो आवश्यकता अनुसार अध्ययन गर्न सक्ने छन् ।’
विद्युतीय पुस्तकालय अनलाईन तथा अफलाईन दुवै माध्यामले प्रयोग गर्न सकिने भएकाले कर्णालीका दुर्गम जिल्लामा पनि प्रभावकारी बन्ने जोशीको भनाई छ । यसको प्रयोग मोवाइल तथा कम्प्युटरको माध्यमबाट गर्न सकिने उहाँले बताउनु भयो । ‘यो अभियान कर्णालीका लागि आवश्यक छ’, अध्यक्ष जोशीले भन्नुभयो, ‘अन्य प्रदेशको भन्दा कर्णालीको शैक्षिक अवस्था कमजोर देखिएकाले पनि हामीले पहिलो प्राथमिकता यस प्रदेशलाई दिएका हौँ ।’
प्रविधि युक्त र वैज्ञानिक शिक्षा आजको आवश्यकता भएको भन्दै त्यो आवश्यकतालाई यस अभियानले पुरा गर्ने शिक्षा क्याम्पस सुर्खेत शिक्षा संकायका प्रध्यापक लक्ष्मीप्रसाद आचार्यले बताउनु भयो । प्रविधिको प्रयोग गरि सिकेका कुरा दिगो र प्रभावकारी हुने भएकाले विद्यार्थीलाई सिकाईमा पनि सहज हुने उहाँको भनाई छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका तर्फबाट यो अभियानका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा वजेट विनियोज गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेशमा रहेका विद्यालयलाई प्रविधिमा जोड्नका लागि एक निर्वाचन क्षेत्र, एक डिजिटल विद्यालय कार्यक्रम सरकारले ल्याएको भन्दै यस कार्यक्रमले थप सहयोग पुग्ने उहाँको भनाई छ ।
यो अभियानले प्रदेशको डिजिटल विद्यालयसँग समन्वय गरेर अगाडी बढ्नुपर्छ, ‘उहाँले भन्नुभयोे, त्यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर अगाडी बढ्न सके प्रभावकारी बन्न सक्ने उहाँको भनाई छ । प्रविधिसँग प्रदेशका विद्यालयलाई जोड्न सकेको खण्डमा आगामी दिनमा उच्च शिक्षाका लागि केन्द्र राजधानी धाउन पर्ने अवस्थाको अन्त्य हुने उहाँले जनाउनु भयो । यो अभियान कक्षा ११ र वाह्रका विद्यार्थीका लागि उपयोगी हुनेछ ।
अभियान सह्रनिय भएको भन्दै प्रदेशमा आएको वजेटलाई फ्रिज हुन नदिई शैक्षिक क्षेत्रमा लगानी गर्न विद्यार्थीहरुले सुझाब दिएका थिए । कार्यक्रममा वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार १२:२५