सुर्खेत । नवजात शिशु र आमामा देखिने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर प्रदेश अस्पतालमा सुसार कार्यक्रम शुरु गरिएको छ । कम उमेरमा विवाह गर्दा नवजात शिशुको मृत्यु हुने गरेका कारण यसको रोथामका लागि सुसार कार्यक्रम शुरु गरिएको हो ।
नेपालमा नै पहिलो पटक प्रयोगमा ल्याइएको नयाँ उपकरण प्रयोग गरी अस्पतालले सेवा दिएर सुरु गरिएको सुसार कार्यक्रम मार्फत मातृशिशु मृत्युदर घटाउने प्रयास गरेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुप्रिटेण्ड डा. डम्मर खड्काले जानकारी दिनु भयो । अस्पतालमा मात्रै नभइ गर्भअवस्था देखिनै आमा र शिशुको राम्रो सेवा सुसार गर्नुपर्ने उहाँले बताउनु भयो । अस्पतालको व्यवस्थापनमा मात्र नभइ घरपरिवारले पनि राम्रो रेखदेख गर्न सकेको खण्डमा शिशु मृत्युदर कम गर्न सकिने डाक्टर खड्काले बताउनु भयो ।
कर्णाली प्रदेशमा मातृशिशु मृत्युदर २९ प्रतिशत रहेको छभने प्रदेश अस्पतालमा पाँच प्रतिशत मातृशिशु मृत्युदर रहेको तथ्याङ्क छ । यसलाई घटाउन प्रदेश अस्पतालले सुसार कार्यक्रमको सुरुवात गरेको छ । भौगोलिक विकट तथा अशिक्षाका कारण कर्णाली प्रदेशमा मातृशिशु मृत्युदर २९ प्रतिशत रहेको छ । प्रदेश अस्पतालमा प्रसुति गराउन ल्याएका मध्ये पाँच प्रतिशत नवजात शिशुहरुको मृत्यु हने गरेको प्रदेश अस्पतालले जनाएको छ ।
क्यानेडियन संस्थाको सहयोगमा प्रदेश अस्पतालले सुसार कार्यक्रम संचालन गरेको हो । संस्थाले आमाको पेटमा रहेको बच्चाको हृदय गति र आमाको अवस्था वारे जानकारी दिने उपकरण अस्पताललाई उपलब्ध गराएको छ । अस्पतालमा उपकरण र जनशक्ति बढाएर मात्रै नभइ बालविवाह नरोक्दासमेत शिशु मृत्युदर नघट्ने बाल रोग विशेषज्ञ डा. नवराज केसीको भनाई छ ।
उमेर नपुगी विवाह गर्नाले यो समस्या बढेको अस्पतालले जनाएको छ । बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याउन सकेमा पनि यसको न्युनिकरणमा टेवा पुग्ने बाल रोग विशेषज्ञ डा. केसीको भनाई छ । अघिल्लो महिना ६ सय जना बालवालिका जन्मेकोमा १५ जनाको मृत्यु भयो भने १० जनाको पेटमा नै मृत्यु भएको थियो । पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
नेपालमा हरेक वर्ष ११ हजार शिशुहरु मृत जन्मने गर्दछन् भने १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मृत्युहुने गरेको अस्पतालले जनाएको छ । त्यसका लागि आम नागरिक नै सचेत हुनुपर्दछ । मृत्युहुनेमा ५० प्रतिशत अधिक मात्रामा प्रसव पीडाका कारणा हुने गरेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार १३:५२