मुगु । मुगु जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाईएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समारोह समिति मुगुको आयोजनामा दिवस मनाईएको हो ।
जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतमा भएको संविधान दिवस कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, पूर्व भुमिसुधार राज्यमन्त्री मानबहादुर शाही, छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाही, जिल्ला समन्वय समितिका उपसंयोजक कर्णशिला मल्ल, नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल लगायत बक्ताहरुले नेपाल अधिराज्यको संविधान २०७२ को आवश्यकता र महत्वमाथि प्रकाश पार्नु भएको थियो भने महाकाली नमूना माध्यमिक विद्यालयका विद्यार्थीले स्वागत गीत गायका थिए ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार मैत्रीपूर्ण देउडा कार्यक्रम समेत आयोजना गरिएको छ । शुक्रबार साँझ सम्पूर्ण जिल्लावासीले आ–आप्नो घरमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।
संबिधान दिवसलाई लक्षित गरि बिहीबार जिल्ला स्थित स्थानीय निकायका पदाधिकारी सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय नागरिक समाज, पत्रकार, उद्योगी ब्यापारी, होटेल ब्यवसायीको सहभागितामा गमगढी बजार सरसफाई गरिएको थियो भने नगर क्षेत्र भित्रका माध्यमिक विद्यालयहरुको सहभागितामा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
संविधान दिवसकै अवसरमा शनिबार वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।
प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार १२:०१