सुर्खेत । हिन्दुहरुको चाडपर्व दसैँ, तिहारलाई लक्षित गरी जनतालाई राहात दिन गत मंगलबारदेखि कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सुरु भएका छन् । विगत वर्षझै यस वर्षपनि सुपथ मुल्य पसललाई निरन्तर दिइएको हो ।
चाडपर्वका बेला बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले चाडपर्व लक्षित खाद्य वस्तु सहुलियत दिन थालेपछि उपभोक्तालाई राहात मिलेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका खरिद तथा विक्री वितरण बढेपछि सुर्खेतका बजारहरुमा चहल पहल बढ्न थालेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय सुर्खेतले चाडपर्वमा सुपथ मूल्य पसलबाट चामलमा प्रतिकिलो १० रुपैयाँसम्म घटाएर ग्राहक उपलब्ध गराईएको जनाएको छ । कार्यालय प्रमुख भीमबहादुर थापाले मोटा चामल ३७ रुपैयाँ, सोना मन्सुली चामल ४० रुपैयाँ, जिरा मसिनो चामल ५० रुपैयाँ, जापानी चामल ४६.५० रुपैयाँ, कर्णालीको सिमी १२० रुपैयाँ र कर्णालीको तिते फापर ८० रुपैयाँमा विक्री वितरण भईरहेको जानकारी दिनु भयो । उहाँले चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सहुलियत मूल्यमा विक्री वितरण गरि रहेको बताउनु भयो ।
भदौं २४ गते देखि शुरु भएको सहुलियत मूल्य खाद्यन्न विक्री वितरण आगामी कात्तिक १७ गते सम्म सञ्चालन हुने प्रमुख थापाले जानकारी दिनु भयो । उहाँका अनुसार सिमी प्रति व्यक्ति ६ किलो र चामल एक क्वीन्टलसम्म सुपथ मूल्य पसलबाट खरिद गर्न सकिनेछ ।
यता साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड शाखा सुर्खेतले पनि उपभोक्तालाई राहत दिनका लागि सहुलियत मूल्यमा नून, चिनी उपलव्ध गराई रहेको जनाएको छ । साल्ट ट्रेडिङ सुर्खेतका शाखा प्रमुख रामबाबु गुप्ताले सहुलियत मूल्य पसलमा नून प्रतिकेजीमा दुई रुपैयाँ र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको बताउनु भयो । उहाँले सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति ६ किलोग्राम सम्म नून, चिनी विक्री वितरण गरिएकोे जनाउनु भयो ।
चाडपर्व लक्षित गरी सञ्चालनमा ल्यायएको सुपथ मूल्य पसल उपभोक्ताको सहुलियतका लागि भएको हुनाले उपभोग्य वस्तु सहज रुपमा जनतालाई उपलब्ध गराउने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्देशन समेत दिनु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसलको बिहीबार स्थलगत अनुगमन गर्दे प्रजिअ अधिकारीले जनतालाई सेवा दिन सुपथ मूल्य पुल सञ्चालन गरिएको हुनाले जनगुनासो नआउने गरी काम गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यालयहरुलाई निर्देशन दिनु भयो ।
प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार ११:०९