सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राज्यले प्रदान गर्ने सवै खालका सेवा सुविधा सरल रुपमा प्राप्त गर्नुपर्ने बताउनुभएको छ । सवै कर्णालीवासीका लागि विपद् दुर्घटना विमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सवै प्रकारका सेवा–सुविधा सरलरुपमा जनतासम्म पुर्याउनु सरकारको दायित्व भएको वताउनुभयो ।
मुख्यमन्त्री शाहीले विपद्को उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठुलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहात स्वरुप विमा कार्यक्रम शुरु गरेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले विमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुख्खको वेला सरकार आफनो साथमा रहेको अनुभुति गराउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य विमाको प्रभावकारिताका वारेमा जनताको गुणासो आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न समेत आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद दुर्घटना विमा कार्यक्रम आजै देखि लागु भएको छ । शुुभारम्भ कार्यक्रममै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय विमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा कार्यान्वयन गरिएको विमा कार्यक्रम अन्तर्गत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको नि:शुल्क विमा सुविधा प्राप्त गर्नेछन् । त्यसैगरी विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
विमा कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामुहिक रुपमा गरिने विमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्नेछ ।
प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार १६:२४