सुर्खेत । वीरेन्द्रनगर वडा नं. ८ सुकुम्बासी बस्तीकी १० वर्षीया पायल विटालु वीरेन्द्रनगर ८ मा रहेको श्री बालमन्दिर प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत हुनुहुन्छ । विहान साढे ९ बजे विद्यालय आउनु पायलको दैनिकी हो । बुवा भारत गएर कमाउने र आमा होटल व्यवसाय गर्ने बताउने पायललाई घरमा समस्या नभएपनि विद्यालयमा भने खेलकुदका सामग्री र विद्यालयमा क्यान्टिन नहुँदा निकै समस्या हुने गरेको छ । ‘स्कुलमा सुविधाजनक शौचालय, खाजा खाने क्यान्टिन पायलका लागि सहज छैन् । विद्यालयमा खानेपानी त विद्यार्थीका लागि झन ठूलो समस्या हो ।
यस्तै सोही विद्यालयकी १० वार्षीय सिता सुनार पनि विद्यालयमा खेलकुद सामग्री र सहज शौचालय नभएको दुखेसो गर्नु भयो । खेलकुद सामग्री र शौचालयको समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले न त खेल्न नै पाउँछन् न त शौच नै गर्न सक्छन् ।
कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा बालविकासका विद्यार्थी सहित एक सय १० जना विद्यार्थी छन् । तर नियमित भने ७५ देखि ८० को हाराहारीमा आउने बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र वि.सी.ले जानकारी दिनु भयो । उहाँका अनुसार बालमन्दिर विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न, दलित समुदाय र सुकुम्बासी बस्तीका छन् । ‘यहाँ पढ्ने धेरै जसो विद्यार्थीहरु आर्थिक अवस्था कमजोर भएका छन्, कोही कोही त खाना नै नखाएर आउने गर्छन् जसले गर्दा पढ्दा पढ्दै निदाईदिन्छन् । घरायासी समस्याले कतिपय बालबालिका स्कुल नै आउन नसक्ने अवस्थामा रहेको प्रधानाध्यापकको भनाई छ ।
प्रधानाध्यापक वि.सी.ले बालमन्दिर विद्यालयमा लगाईएको पर्खाल भत्किदाँ सडकका हिड्ने गाईवस्तुहरु विद्यालयको प्राङगण भित्रै छिर्ने समस्या रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको अभावले राज्यले लिएको लक्ष्य अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको बताउनु भयो । उहाँले भवनहरु प्रयाप्त भएपनि जीर्ण भएका कारण दैनिक पठनपाठनमा समस्या भएको औँल्याउनु भयो ।
पछिल्लो समयअंग्रेजी माध्यमतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएको भन्दै उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइ राख्न अंग्रेजी माध्यमलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । अंग्रेजी माध्यमका लागि शिक्षकको दरबन्दी थप र शिक्षकहरुको क्षमता विकासलाई सरकारले ध्यान दिनुपर्नेमा उहाँले धनाई छ ।
प्रदेश सरकार, स्थानीय सरकार आएपनि विद्यालयको हालत भने जस्ता तस्तै रहेकोमा प्रधानाध्यापक वि.सी.ले दुखेसो गर्नु भयो । ‘प्रदेश सरकारसंग स्कुलको पर्खाल बनाउनका लागि कुरा राखेको थिए तर अहिलेसम्म सुनुवाई भएको छैन्,उहाँले भन्नुभयो, ‘नगरपालिकासंग दिवा खाजा, खानेपानी फिल्टर र भवनको रङ्रोगनका लागि माग गर्दै छु हेरम कहिले सम्म सुनुवाई हुन्छ ।’
प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार १७:४१