सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको अस्थायी बसपार्क क्षेत्रमा फोहर नउठाउँदा यहाँका व्यापारी, स्थानीय तथा गाडी चालक समेत दुर्गन्ध खेप्न बाध्य भएका छन् । फोहर नउठाउँदा हिँड्डुल गर्न पनि समस्या भएको यहाँका स्थानीयको गुनासो छ ।
सुर्खेत–बोटेचौर गाडी चालक असोक आरसीले फोहरको दुर्गन्धले गाडी चलाउन समस्या हुने गरेको बताउनु हुन्छ । ‘जताततै फोहर फालिएका छन् । खाल्डाखुल्डीमा जमेको पानी छ,’ उहाँले भन्नु भयो, ‘यहाँको दुर्गन्धले यात्रु सास्ती भोग्न बाध्य छन् ।’ जताततै फालिने फोहरको व्यवस्थापनको लागि कुनै नियमन निकायले चासो नलिएका कारण समस्या भएको उहाँको भनाई छ ।
फोहरले स्थानीय बासिन्दालाई मात्र नभएर गाडी आवतजावत यात्रुलाई पनि समस्या निम्तिएको छ । व्यापारिक क्षेत्र बसपार्क फोहरको थुप्रोले भरिँदा व्यापार गर्न समेत निकै गाह्रो हुने गरेको बसपार्क क्षेत्रमा ७ वर्षदेखि व्यापार गर्दै आईरहनु भएकी रिता कार्कीले बताउनु भयो । बसपार्क नै फोहरले घेरिएकाले त्यसको दुर्गन्ध पसल सम्म आउने गरेको उहाँले सुनाउनु भयो । रासका रास फोहरका दुर्गन्धले बसपार्क क्षेत्रलाई कुरूप बनाएको उहाँको भनाई छ ।
‘फोहरले दुर्गन्ध मात्र फैलाउँदैन,’ उहाँले भन्नुभयो ‘फोहरका छेउमा दैनिकी चलाउने मानिसको स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।’ फोहरले कतिपय मानिसलाई रुघाखोकी, झाडाबान्ता पनि हुन सक्ने उहाँले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको ट्रकले बसपार्कको भुईमा रहेको फोहर नउठाएर व्यापारीले उठाएको फोहर मात्रै लग्ने गर्दछ । उहाँले भन्नुभयो ‘हामीले गरेको फोहर जम्मा गरेर ट्रकमा लगेर छोड्छौ, तर ट्रकमा आएका मानिसहरुले भुईमा झरेर फोहर उठाउँदैनन् ।’
फोहरको दुर्गन्धले गर्दा ग्राहक पनि नआउने नाङ्लोमा स्याउ बेचिरहनुभएकी पवित्रा भण्डारीले बताउनु भयो । तिन वर्षदेखि व्यापार गर्दै आउनु भएकी भण्डारी भन्नुहुन्छ, ‘फुटपाथमा व्यापार गर्यो भनेर नगरपालिकाले लखेट्छ तर यही थुप्रिएको फोहर उठाउन सक्दैनन् ।’ आज फोहर उठाए पनि भोलि आउँदा उत्तिकै हुने गरेको उहाँले बताउनु भयो । फोहर उठाउने गाडी आउँछन, जसले जम्मा गरिएको फोहर मात्रै उठाएर लैजाने गर्छन् र जत्ति उठ्छ त्यति मात्र लैजान्छ । त्यसैले फोहर उठाए पनि बसपार्कमा फोहरको थुप्रो नै देखिन्छ ।
वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकालले बसपार्क क्षेत्रमा फोहर उठाइनुपर्ने बताउँदै नगरपालिकाको गाडीले सार्वजनिक स्थानमा रहेको फोहरलाई उठाउने गरिएको बताउनु भयो । उहाँले सरसफाइ अभियानले फोहरका थुप्रा भएका ठाउँमा पनि सफा गर्नुपर्ने बताउनु भयो । तर, अहिले बसपार्कमा फोहर थुप्रिएको छ । उहाँले बसपार्क क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्नको लागि ठेकेदारलाई दबाब दिने जनाउनु भयो । ‘फोहर उठाउन जिम्मा लिएका ठेकेदारलाई दबाब दिने छु,’ उहाँले भन्नुभयो, ‘त्यहाँको फोहरहरू छिट्टै व्यवस्थापन हुन्छ ।’ अव्यवस्थित फुटपाथका पसलले फोहर भएकाले त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार १३:४७