सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेत उपत्यकाका किसानले पशुका लागि म्याट ओछ्याउन थालेका छन् । चोटपटक लाग्ने र छाला जाने समस्या हट्ने भएपछि पछिल्लो समय म्याटको प्रयोग गर्ने किसानको संख्या बढ्न थालेको हो ।
पशुका लागि म्याटको प्रयोग गर्ने अभियान वीरेन्द्रनगर नगरपालिकाले थालेको हो । वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले पहिलो पटक नमुनाका लागि प्रयोगमा ल्याएको म्याट निकै प्रभावकारी बनेको छ । गत आर्थिक वर्षको बजेटबाट नगरपालिकाभित्र रहेका १० वटा पशु फर्मलाई नमुना प्रयोगका लागि एक/एक वटा म्याट अनुदान दिएको थियो । म्याटको प्रयोगले गाई भैँसीलाई चोटपटक लाग्ने र छाला जाने समस्या हटेको भन्दै अनुदानको भर नपरी किसान स्वयंले म्याट किनेर प्रयोग गर्न थालेका छन् ।
वीरेन्द्रनगर २ मा सञ्जिवनी भैँसी फर्म खोलेर बस्नु भएका गजबहादुर बुढाले आफ्नो फर्ममा १७ वटा भैँसी पालन गर्दा म्याटको प्रयोग गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘पहिले भैँसीलाई सिमेन्टमा राख्दा घाउ, चोटपटक लागेको थियोभने छालामा पनि समस्या थियो, तर अहिले म्याट ओछ्याएपछि राम्रो भएको छ ।’ उहाँले भैँसी फर्ममा म्याट प्रभावकारी रहेको बताउनु भयो ।
वीरेन्द्रनगर ९ लाटीकोईलीमा गाई फर्म खोलेर बस्नु भएकी निता कार्कीले नगरपालिकाले गाई फर्मका लागि एउटा म्याट वितरण गरेको बताउनु भयोे । उहाँले भन्नु भयो, ‘हामीसंग २९ वटा पशुहरु छन्, म्याट एउटा छ, तर एउटाले पुग्दैन, नगरपालिकाले अझै ७ वटा जति म्याट अनुदानमा दिएको भए अझै राहत हुन्थ्यो ।’
नगरपालिकाले पशुमैत्री कार्यक्रम अन्तर्गत किसानलाई अनुदानमा उपलब्ध गराएको प्रति म्याट झण्डै ८ हजारका दरले खरिद गरेको थियो । किसानलाई सूचना र जानकारी दिने उद्देश्यले उक्त म्याट वितरण गरेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
नगर पशु शाखा कार्यालय सुर्खेतले नगरपालिकाभित्र १० भन्दा बढी गाई, भैँसी पालेकालाई म्याट वितरण गरेको जनाएको छ । भुईमा सामान्य प्लाष्टर गरेर गाई भैँसी पाल्दै आएका किसान म्याटको प्रयोगले हौसिएका छन् ।
प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार १६:३५