सुर्खेत । गत वर्षको खडेरीले खाद्य संकट खेपीरहेको कर्णाली प्रदेशका पहाडी जिल्लामा चाडपर्वको अवसरमा खाद्यन्न अभाव नहुने भएको छ । स्थानीय उत्पादनले मात्र वर्षभरि नथेग्ने भएकाले कर्णालीवासीले चाडपर्वमा चामल अभाव भोग्नुपर्ने बाध्यता छ । यही समस्या समाधानका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत स्थित कार्यालयले चाडपर्वका लागि कर्णालीमा चामल पठाउने काम गरिरहेको छ ।
अघिल्ला वर्षहरूमा चाडपर्वका लागि चामल लिन डिपोमा दिनहुँ लाइन बसे पनि सर्वसाधारणले चामल नपाउने अवस्था थियो । दसैं र तिहारको समयमा अझ बढी खाद्यान्न अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दसंै र तिहारअघि नै खाद्यान्न पठाइसक्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले गरेको छ । कम्पनीले चाडपर्वअघि नै खाद्यान्न पठाइसक्ने जनाएको छ ।
दसैं, तिहार र छठमा हुम्ला, डोल्पा, मुगु लगाएतका १० वटै जिल्लामा खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताउनु भयो । उहाँले भन्नु भयो, ’हामीसँग पर्याप्त मौज्दात छ, दसैं, तिहार र छठमा खाद्यान्न अभाव हुन दिने छैनौँ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख थापाका अनुसार यो वर्ष हुम्ला र डोल्पा जिल्लामा पर्याप्त मौज्दात रहेकोे छ । ‘यो वर्ष हुम्लामा संकटनपरोस भनेर साउन लाग्दै २ हजार क्वीन्टल चामल हवाई जहाज मार्फत पठाईसकेका छौ, उहाँले भन्नुभयो, ‘त्यतीले पुगेन भनेपनि ४ हजार क्विन्टल चामल पठाउने योजनामा छौ ।’ उहाँले हुम्लामा खाद्यान्न पठाउनका लागि हवाई जहाजको प्रयोग गरिएको जनाउनु भयो । उहाँका अनुसार डोल्पा जिल्लामा पनि सात हजार क्विन्टल चामल मौज्दात रहेको छ । ‘खाद्य संकट हुने ठाउँमा अघिल्लो वर्षभन्दा अझै धेरै चामल पठाउने योजनामा छौ, उहाँले भन्नुभयो, ‘कुनै जिल्लामा संकट पर्न गयो भने पनि हामी चामल पठाउन तत्पर छौ । ’
प्रमुख थापाले दैलेख जिल्लाको सदरमुकाममा चामलको अभाव नहुने भएपनि उक्त जिल्लाका ठाँटिकाँध, विन्द्रासैनी, नौमुले ठाउँमा चामल संकट भएको बताउनु भयो । उक्त ठाउँमा चामल पठाउनका लागि केही दिन लाग्ने उहाँले जनाउनु भयो । उहाँका अनुसार मुगु जिल्लाको श्रीकोट, पुलुमा चामल पठाइसकिएको र माग आएमा फेरीपनि पठाउन सकिनेछ ।
सुर्खेतस्थित गोदाममा ८ हजार क्वीन्टल खाद्यन्न मौज्दात छ । उहाँले हुम्लामा २ हजार क्वीन्टल, डोल्पामा ७ हजार क्वीन्टल, मुगुमा ५ सय क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ । जुम्लामा २ हजार ५ सय क्वीन्टल, कालीककोटमा १२ सय क्वीन्टल, जाजरकोटमा १६ सय क्वीन्टल र दैलेखमा ५ सय क्वीन्टल खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख थापाले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार १५:५९