सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित कालागाउँमा रहेको ३ सय शैयाको प्रदेश अस्पताल समयमै बन्यो । अस्पताल भवन समयमै बनेकाे फाइदा सरकारलाई त भयाे नै यसले निर्माण कम्पनीलाई पनि फाइदा पुगेकाे छ । जुन अस्पताल भवन निर्माणको काम आशिष एण्ड कन्टेक जेभीले सम्झौता भन्दा ६ महिना अघि नै सम्पन्न गरेको हो ।
आशिष एण्ड कन्टेक जेभीले प्रदेश अस्पताल सम्झौता अघि नै सम्पन्न गराएकाले बोनसका लागि प्रक्रिया अघि सारेको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख जगदिश लामिछानेले बताउनु भयो । उहाँका अनुसार प्रदेश अस्पताल ४९ करोड ४२ लाख ९५ हजारमा सम्पन्न गरिएको हो । उहाँले भन्नु भयो ‘३ सय शैयाको प्रदेश अस्पताल साढे दुइ वर्षमा नै सम्पन्न गरी निर्माण कम्पनीले बोनसका लागि फाईल पेश गरिसकेको छ, उक्त काम प्रक्रियामा नै छ ।’
यस्तै सुर्खेतमा निर्माणाधीन अत्याधुनिक सभाहलको काम पनि तिव्रताका साथ अघि बढिरहेको छ । तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने तरिकाले कामलाई द्रुत गतिमा अघि बढाइएको आयोजना प्रमुख लामिछानेले बताउनु भयो । उहाँका अनुसार अहिले सभाहलको संरचना निर्माणको काम सकिएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ सालदेखि निर्माण थालिएको सभाहलको काम द्रुत गतिमा अघि बढेको उहाँले बताउनु भयो ।
समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभी, काठमाडौँलाई २०७३ चैत्र २४ गते सभाहल निर्माणको जिम्मा दिइएको थियो । सभाहलको जिम्मा पाएको समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभी, काठमाडौँले काम गर्ने समयमा कुनै समस्या नआएमा समयभन्दा अगावै सम्पन्न गरिने जनाएको छ ।
निर्माणाधीन सभाहल करिब ७ सय बढी क्षमताको छ । सभाहलमा मल्टीप्रपोज हल, प्रशासनिक भवन, अपाङ्गमैत्री र करिब चार सय सवारी साधन पार्किङ्ग सुविधा रहने आयोजना प्रमुख लामिछानेले जनाउनु भयो । उहाँका अनुसार सभाहलमा दुईवटा गेट रहने छन् जसमध्ये एउटा मुख्य र अर्को साइट गेट बन्ने भएको हो ।
आखाँ अस्पताल पछाडी बन्ने साढे तिन विगाहा जग्गामा निर्मााणधीन सभाहल निर्माण कार्य सम्पन्न हुँदासम्म २० करोड ५४ लाख ८६ हजार लागत लाग्ने आयोजना प्रमुख लामिछानेले जनाउनु भयो ।
कर्णाली प्रदेश राजधानीका प्रदेश अस्पताल सम्झौता अगावै र सुर्खेत सभाहल सम्झौता मिति भन्दा अघि नै सम्पन्न हुने भएपनि राजधानीमै रहेका दलित छात्राबास र कटकुवा हेल्थपोस्ट भने अहिले सम्म हरिबिजोग अवस्थामा रहेका छन् ।
आयोजना प्रमुख लामिछानेले कटकुवा हेल्थ पोस्टका लागि नयाँ प्रक्रियाबाट अघि बढ्ने बताउनु भयो । उहाँले कटकुवा हेल्थपोस्ट निर्माणका लागि के आर विल्डरस प्रा.लि. वीरेन्द्रनगरसंग २०७६ असार १२ गते ८८ लाख ७७ हजारमा सम्झौता गरिएको जनाउनु भयो । उहाँले २०७७ असार १० गते भित्र सम्पन्न हुने गरि काम सम्पन्न गरिने गरि सम्झौता भएको बताउनु भयो । ‘कटकुवा हेल्थ पोस्ट बनाउनका लागि यो भन्दा पहिले पहिलो ठेक्का २०६७/०६८ मा जि एम कन्ट्रक्सन प्रा.लिं संग १ वर्ष भित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो, तर ठेकेदारका लापरवाहीले सम्पन्न हुन सकेन । उहाँले भन्नु भयो, ‘त्यसैले गर्दा अब भने हेल्थपोस्टको काम तिव्र गतिमा अघि बढाइने छ ।’
यसैगरी अलपत्र अवस्थामा रहेको दलित छात्रावासका लागि भने नयाँ सम्झौताका साथ अघि बढाइने प्रमुख लामिछानेले बताउनु भयो । उहाँका अनुसार छात्रावासका लागि टेण्डर र प्रक्रिया सुरु भएपनि बजेट नआएपछि ठेकेदारले काम गर्न नसकेका हुन । उहाँले भन्नु भयो, ‘दलित छात्रावासका लागि हामी अब नयाँ प्रक्रियाबाट नै जानेछौ ।’
प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार १३:४९