सुर्खेत । भदौको महिना त्यसैपनि तीजको रमझममा महिलाहरु दर खाने कार्यक्रममा दौड धुप गरिरहेका बेला वीरेन्द्रनगर ८ स्थित महिला प्रशिक्षणमा बस्दै आएका बाढीपीडितलाई भने साँझको छाक कसरी टार्ने भनेर चिन्ताले सताउँदै गरेको छ । उनीहरुलाई के तीज ? के चाडवाड ? चिन्ता एउटै हुन्छ, कहिले हुन्छ घर बास ? बाढीपीडितले यो प्रश्न गर्न लागेको पनि पाँच वर्ष वित्यो तर अवस्था उस्तै छ ।
बाढीपीडित रामकुमारी खत्रीभन्नु हुन्छ ‘अरुलाई तिज लागेको छ तर हामीलाई भने साँझ, विहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ ।’ २०७१ साल साउनमा आएको बाढीले घर, जग्गा बगाएकी खत्रीले गिट्टी कुटेर गुजारा चलाउने गरेको भएपनि अहिले सम्म च्यातिएको त्रिपाललाई छोप्न सक्नु भएको छैन । उहाँले भन्नु भयो, ‘पाँच वर्ष अघि पाएको यहीँ त्रिपालमा अहिलेसम्म गुजारा चलाउँदै आएका छौ, त्रिपाल च्यातिएर ठाउँ ठाउँमा टालो हालेर टालेका छौ ।’ उहाँ भन्नु हुन्छ ‘घर घरमा सरकार आयो भन्छन, खोई हाम्रा लागि हिजोको दिन पनि त्यस्तै थियो आज पनि त्यस्तै छ केही फेरिएको छैन ।’
यस्तै अर्का बाढीपीडित नरबहादुर सुनारले प्रदेश सरकारले बाढीपीडितका कुरा सुन्ने तर कुनै निर्णय गर्न नसक्ने गुनासो गर्नु भयो । उहाँले भन्नु भयो, ‘सरकार की हाम्रो व्यवस्था गर की हामीलाई गोली हानी मार, यस्तो भनिरहँदा उहाँको आँखा रसाईरहेका थिए । ‘पाँच वर्ष भइसक्दा हामीले नै भोट हालेका नेताहरु आउँदैनन् र हाम्रा माग पनि पुरा गर्दैनन् उहाँले भन्नु भयो, ‘हाम्रा माग पुरा गर्दे सरकार भन्दा भन्दै हामी थाकिसेका छौ तर अझैपनि हाम्रा माग पुरा हुन सकेका छैनन् ।’
यस्तै भेरीगंगा नगरपालिका १२ पाडुलेमा बस्दै आएका बाढीपीडित सिताराम सुनारभन्नु हुन्छ, ‘पाँच वर्ष देखि यहीँ जंगलमा त्रिपाल हालेर बसेका छौ, जंगलको ठाउँमा त्रिपालमा महिलाहरुका लागि समस्या हुन्छ ।’ उहाँले भन्नु भयो, ‘यस्तै कुराहरु सोचेर कहिले त हामी रातभर जाग्राराम बस्छौ ।’ अब त सरकारले हाम्रो कुरा सुन्छ की भनेर आशा मानेर बस्न बाहेक केही गर्न सक्दैनौ ।’
अर्की बाढीपीडित देउरुपा कामीले पनि च्यातिएको पालमा बस्नुपर्ने बाध्यता संगै घरमा कमाउने कोही नहुँदा घरखर्च टार्न समस्या भएको दुखेसो गर्नु भयो । उहाँले भन्नु भयो, ‘कमाउने एउटा छोरो थियो त्यसको पनि मृत्यु भयो, अब त मलाई बाच्ने पनि कुनै आधार रहेन, घरमा कमाउने मान्छे पनि कोही छैनन् बाढीले घर, खेत नै बगाएर लग्यो, न त सरकारले हाम्रा कुरा सुन्छ न त केही राहत नै दिन्छ । यसो भनिरहँदा उहाँ रोइरहनु भएको थियो ।
कर्णाली फाउन्डेशनले शुक्रबार आयोजना गरेको सांसद र बाढीपीडित भेटघाट कार्यक्रममा प्रदेश सभा सांसद सिता नेपालीले बाढीपीडितलाई आश्वासन दिँदै संसदमा बाढीपीडितका कुरा उठाएपनि भुकम्प पीडितले गर्दा ओझेलमा परेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले बाढीपीडितले पाउनु पर्ने जती बजेट नपाएको भन्दै उनिहरुलाई उचित बजेट उपलब्ध गराउनका लागि संसदमा कुरा राख्ने बताउनु भयो । सांसद नेपालीले बाढीपीडितका लागि बजेट उपलब्ध गराउनका कार्यविधी तयार हुँदै गरेको जानकारी दिनु भयो ।
सांसद कुर्मराज शाहीले बाढीपीडितलाई राहत दिन सरकारसंग पहल गरेको बताउनु भयो । उहाँले बाढीपीडितका लागि यो आथिर्क वर्ष भित्रमा बजेट व्यवस्थापन हुन सक्ने आश्वासन व्यक्त गर्नु भयो ।
भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आर्चायले बाढीपीडितलाई नगरपालिकामा न्युन बजेट कारण सहयोग गर्न नसकेको दुखेसो गर्नु भयो । उहाँले संघीय, प्रदेश र स्थानीय सरकारसंग बाढीपीडितलाई राहतका लागि पहल गरिरहेको बताउनु भयो । उहाँले भेरीगंगामा रहेका बाढीपीडितलाई व्यवस्थापनका लागि रामघाटमा रहेको सरकारी जग्गा र पाडुलेमा रहेको सरकारी जग्गामा उपलब्ध गराउने माग गरेको जनाउनु भयो ।
याे पनि हेर्नु हाेस्
प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार १५:५६