सुर्खेत । सुर्खेतमा सिद्धार्थ शनि रिसोर्ट र शुभ होटलमा जिल्ला बजार अनुगमन समितिले छड्के अनुगमन गरेको छ । भौतिक पूर्वाधारमा क श्रेणीका यी होटलहरुले खानेकुरामा भने लापरबाही गरेको अनुगमनका क्रममा पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको नेतृत्वमा जिल्ला बजार अनुगमनको टोलीले विहीवार यी ठूला होटलहरुको अनुगमन गर्ने क्रममा दुवै होटलले खानेकुरामा लापरबाही गरेको देखिएको छ । दुवै होटलको भान्साघरमा आवश्यक मापदण्डहरु नपुगेको, खुल्ला भएको, खाद्य सुरक्षामा पर्याप्त ध्यान नदिएको, वडापालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको अनुगमनका क्रममा पाइएको छ ।
सिद्धार्थ शनि रिसोर्टले भान्साघरमा डस्टविन नराखेको, भान्सामा काम गर्ने कामदाहरुले किचन जुत्ता प्रयोग नगरेको, खाद्य पदार्थहरु फ्रिजमा राख्न स्टिलका भाँडामा नराखी प्लाष्टिकमा राखेको, नगरपालिकामा व्यवसाय दर्ता प्रमाणत्र नलिएको पाइएको छ । यसका साथै सो रिसोर्टबाट तीन लिटर बढी पटक प्रयोग भएको तेल नष्ट गरिएको खाद्य निरीक्षक भेषबहादुर थापाले जनाउनुभयो ।
यस्तै शुभ होटलमा भान्सामा तीन प्याकेट म्याद नाघेको मसलाको फेला परेको, भान्साघरको सरसफाई पर्याप्तमात्रमा नभएको, व्यवसाय दर्ता प्रमाणपत्र नलिएको, पर्यटन उद्योग महाशाखाबाट अनुमति नलिएको, भान्साघर खुल्लारुपमा पाइएको खाद्य निरीक्षक थापाले जानकारी दिनुभयो । सो होटलबाट करिव दुई लिटर धेरै पटक प्रयोग भएको तेल र म्याद नाघेको मसला नष्ट गरिएको छ ।
प्रदेश राजधानीकै नाम चलेका होटलहरुले खुवाउने खाना, खाजाहरु सफा, स्वस्थ हुनुपर्ने भएपनि पर्याप्तमात्रामा त्यसो नगरेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताउनुभयो । होटलको शान नै खाना भएकोले खाद्य पदार्थमाथि होटलहरु संवेदनशील हुनुपर्ने सुझाव उहाँले दिनुभयो ।
विगतमा साना होटलहरुको मात्रै अनुगमन गर्ने गरेको आरोप खेपिरहेका बेला यसपटक समितिले प्रदेशकै ठूला होटलहरुमाथि छड्ने अनुगमन गरेको छ । अनुगमन गर्न कहाँ जाँदैछौं भन्ने जानकारीसमेत अनुगमन टोलीका सदस्यहरुलाई थिएन । ठूला होटलहरुले पनि लापरबाही गर्नेरहेछ भन्ने उदाहरण अनुगमनमा क्रममा देखिएको राष्टिूय उपभोक्ता मञ्चका अध्यक्ष आकाशतारा बयकले बताउनुभयो ।
प्रकाशित मिति: १२ भाद्र २०७६, बिहीबार १७:४३