सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चारलेन सडकको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले चारलेन सडकको पहिलो र दोस्रो स्थानको काम सकिएको र अन्तिम चरणको काम हुँदै गरेको जानकारी दिनु भयो ।
उहाँका अनुसार तेस्रो चरणमा सिद्धार्थ होटलदेखि बाङ्गेसिमलसम्म १४ करोड ६३ लाख ३ हजार ८ सय ४१ रुपैयाँमा निर्माण सम्झौता भएको थियो । चारलेन सडकको ९० प्रतिशत काम सकिएको इन्जिनियर भट्टराईले बताउनु भयो । तेस्रो चरणको काम यो महिना भित्र सकिने उहाँले जनाउनु भयो ।
साढे ६ किलोमिटर सडकलाई चार लेन बनाउन तीन चरणमा विभाजन गरेर निर्माण थालिएको थियो । सडक डिभिजन कार्यालयले पहिलो चरणमा धुलियाबिटदेखी सञ्चयकोषसम्मको १४ करोड ३५ लाख ६४ हजार ५ सय ८० रुपैयाँ निर्माणको ठेक्का दिएको थियो । इन्जिनियर भट्टराईका अनुसार सञ्चयकोषदेखि सिद्धार्थ होटलसम्म १४ करोड ४० लाख ४१ हजार ५ सय ९१ रुपैयाँ ४० पैसामा निर्माण सम्पन्न भइसकेको छ ।
उक्त चारलेन सडकमा विरुवा रोप्नका लागि अहिले सडकको बिचमा तारबारको काम थालिएको छ ।
यसैगरी चारलेन सडकको निर्माण सम्पन्न भएपनि सडकका विभिन्न पाँच ठाउँमा पुल निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने भएको छ । चारलेन सडकका विभिन्न पाँच ठाउँमा पुल निर्माण कार्य जारी नै छ । इन्जिनियर भट्टराईका अनुसार सबै पुलहरू २०७७ साल माघ ११ गतेभित्र निर्माण गरिसक्नु पर्नेछ ।
पक्की पुल निर्माणका लागि सडक विभागले सपना, आशिष, श्याम एण्ड शङ्कर जेभी कम्पनीलाई ३३ करोड १९ लाख ७७ हजार ६ सय १७ रुपैयाँ ३३ पैसामा ठेक्का दिएको छ । चारलेन सडक अन्तर्गत पर्ने गाग्रेताल खोला, नेवारेखोला, इत्राम खोला, खोर्केखोला र ढोडेखाली खोलामा पक्की बनिरहेका छन् । पुलको निर्माणमा समेत करिब ५० प्रतिशत काम सम्पन्न भइसकेका छन् ।
प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार १३:५७