सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा रहेको प्रसिद्ध पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार जाने सडक जिल्लाकै सवैभन्दा बढी जीर्ण बनेको छ । वीरेन्द्रनगरको मंगलगढीदेखि तीन किलोमीटरको दुरीमा रहेको काँक्रेविहार पुग्नलाई सडकमा निकै संघर्ष गर्नुपर्दछ ।
सडकैभरी असंख्य खाल्डाखुल्डी र त्यसमा गुड्ने ३२ टनका दर्जनौं टिप्परले साना तथा पैदल यात्रुहरुलाई डरलाग्दो यात्रा बनाउने गरेको छ । विगतमा कालोपत्रे गरिएपनि अहिले त्यो सवै उप्किएर ग्राभेलजस्तै भएको छभने वीचवीचमा ठूला ठूला खाल्डाले बर्षा याममा पोखरी बन्ने गरेको छ ।
स्थानीयले सडक स्तरोन्नतिका लागि बारम्बार हारगुहार गरेपनि सडकको अवस्थाभने उस्तै छ । काँक्रेविहार र शिव मन्दिरजस्ता प्रमुख पर्यटकीय क्षेत्र जाने सडकको दुरावस्था देखेपछि बाहिरी जिल्लाबाट आउने पर्यटकलगायत स्थानीयले प्रदेश राजधानीको यस्तो सडक भनेर खिसिट्युरी गर्ने गरेको स्थानीय लोकजंग रोकायले बताउनुभयो ।
मंगलगढीदेखि काँक्रेविहारसम्म सडक राम्रो भएमा गाडी मोटरबाट केवल पाँच मिनेटको समय लाग्ने उक्त सडक अहिले कम्तीमा २० मिनेट लाग्ने गरेको छ । काँक्रेविहार जाने सडक विग्रनुमा टिप्परहरुको मुख्य कारण रहेका छन् । लाटिकोइली नजिकै क्रसर उद्योग भएको र त्यहाँ आउने जाने गर्दा टिप्परहरुले बाटो विगारेको उहाँको भनाइ छ । गिट्टी बालुवा बोकेर आधा दर्जन बढी टिप्पर दिनहुँ दर्जनौं पटक ओसारपसार गर्ने गर्दछन् । बढी लोडका कारण उक्त सडक विग्रिएको रोकायको भनाइ छ ।
केही समय अघि स्थानीयले टिप्परहरुले सडक विगारेको भन्दै विरोधसमेत जनाएका थिए । वडा कार्यालयले खाल्डाखुल्डीमा माटो हालेर पुर्ने सहमति जनाएपछि विरोध थामथुम भएको थियो । माटो हालेर पुरिएपनि बर्षाको पानीले पुनः उस्तै भएको रोकायले बताउनुभयो । बिग्रिएको सडकका कारण काँक्रेविहार हेर्न आउनेहरुको संख्या कम भएको उहाँको निष्कर्ष छ । वीरेन्द्रनगर नगरपालिकाले बर्षा याम सकिने वित्तिक्कै काँक्रेविहार जाने सडकको स्तरोन्नति गर्ने जनाएको छ ।
नगर प्रमुख देवकुमार सुवेदीले उक्त सडकका लागि ११ करोड बजेट बिनियोजन भएको जानकारी दिदैं बर्षायाम सकिनासाथ स्तरोन्नतिको काम सुरु गरिने बताउनुभयो । वीरेन्द्रनगरका धेरैजसो सडकहरु स्तरोन्नति गर्नुपर्ने देखिएको छ । नगरप्रमुख सुवेदीले ठूला क्षमताका गाडीहरु गुड्दा सडकको आयु कमजोर भएको बताउनुहुन्छ । सुरुमा कालोपत्रे गर्ने बेला १६ टनको लोडरले पेल्ने तर अहिले २६ देखि ३२ टनका गाडीहरु गुड्न थालेपछि कालोपत्रै सवै काम नलाग्ने गरेको उहाँले जनाउनुभयो । सुरुको कालोपत्रे गर्ने बेलैमा सोही गुणस्तरको सामग्री राखेर लोडेरले पेल्ने गर्नुपर्ने रहेछ, उहाँले भन्नुभयो ।
वीरेन्द्रनगरका सडकहरु धेरै पहिले कालोपत्रे गरिएका हुन् । अहिले प्रदेशको राजधानी भएपछि गाडीहरुको आउजाउ बढेको, ठूला क्षमताका मालबाहक गाडीहरु आउने र यही बाटो भएर प्रदेशका अन्य जिल्लामा जाने गर्नाले सडकको आयु छिटै कमजोर हुने गरेको नगर प्रमुख सुवेदीले बताउनुभयो ।
प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार १४:२१