सुर्खेत । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको नेकपाको सरकारले देशलाई साम्यवादी मुलुक बनाउन खोजेको आराेप लगाउनु भएकाे छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेतमा आयोजित कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षणको शुक्रवार समापन गर्दै सभापति देउवाले नेकपाको सरकारले न्यायालय, प्रेस, सेना, मानवअधिकारलगायत सवै क्षेत्रमा आफुखुशी विधेयक ल्याएर नियन्त्रणमा लिइ साम्यवादी मुलुक बनाउन खोजेको बताउनु भयाे । उहाँले ओली सरकार नसच्चिए अन्तिम लडाई लडेर सदाका लागि फालिने बताउनुभयो ।
पार्टीको आन्तरिक अवस्थावारे जानकारी दिदैं आफू सधैं पार्टी एक बनाउने अभियानमा लागेको उल्लेख गर्नुभयो । उहाँले महामन्त्रीलगायत सवैले सहयोग गरेमा आफूपनि एकताको विपक्षमा नभएको भन्दै सहमति गर्दागर्दै कामै गर्न नपाएको गुनासो पोख्नुभयो । पार्टीभित्र अनुशासनको कमी भएकोले अनुशासनहीन आचरण गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याएपछि मात्रै कांग्रेस बलियो हुने उहाँको भनाइ छ । चुनावमा दुई कम्युनिष्ट मिले र कांग्रेस पार्टी दुईटा जस्तै भएपछि हारिएको भन्दै उहाँले पार्टीभित्र अन्तरघात रोक्न, जनताको घरमा गएर पीरमर्का बुझ्न सकेको खण्डमा चुनावमा जितिने बताउनु भयाे ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपाको सरकारलाई अरुबाट होइन आफ्नैबाट खतरा भएको टिप्पणी गर्नुभयो । उहाँले चुनाव जितेको पार्टीले अहिलेसम्म देखिने र जनताको मन जित्ने कुनै काम नगरेको जिकिर गर्नुभयो ।
यस्तै कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले कांग्रेस एक हुन सकेको खण्डमा मात्रै कम्युनिष्टसंग प्रतिकिार गर्न सकिने बताउनुभयो । उहाँले पार्टीभित्रको गुट उपगुटको अन्त्य गर्न आफैले अभियान थालेकाे बताउनु भयाे । उहाँले पार्टी एक बनाएर मात्रै आफुले विश्राम लिने जानकारी गराउनु भयाे । हाँले याे अभियानमा लाग्न सबैलाई आग्रह गर्नु भयाे ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले यही भदौ २० गतेभित्र पार्टीको जिल्ला तहसम्मको समायोजन सकिने र आगामी कात्तिकभित्र स्थानीय तहको समायोजना पूरा हुने जानकारी दिनुभयो । उहाँले प्रशिक्षणबाट कांग्रेसमा ऊर्जा थपिएको भन्दै अव सशक्त र बलियो कांग्रेस बनाउन अहिलेबाटै लाग्न जोड दिनुभयो ।
समापन कार्यक्रम कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं केन्द्रीय सदस्य जीवनबहादुर शाहीको अध्यक्षतामा भएको थियो । प्रशिक्षणको उद्घाटन विहीवार बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो ।
भिडियाे
प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार १८:२०