सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको सरकारले सत्ता संचालन नै नगर्न नजानेको आरोप लगाउनुभएको छ । उहाँले नेकपाको सरकारले दुई तिहाई बहुमतको उपयोग नगरी दुरुपयोग गरेको टिप्पणीसमेत गर्नुभयो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा विहीवारदेखि सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षणमा बोल्दै उहाँले सरकारको कार्यशैलीप्रति जनता आत्तिसकेको दावी गर्नुभयो । जनताले कांग्रेसमाथि भरोसा गर्न लागेपछि कांग्रेसपनि भरोसायोग्य बन्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसका शीर्षस्थ सवै नेता कार्यकर्ताहरुले विगतको आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिदैं उहाँले अनिमात्रै कांग्रेस सवैको भरोसायोग्य पार्टी बन्ने दावी गर्नुभयो ।
यसैगरी कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले आगामी निर्वाचनका लागि अहिल्यैबाट कांग्रेस सशक्त हुन प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको प्रष्ट्याउनुभयो । उहाँले सवै कार्यकर्ताहरुलाई प्रशिक्षणबाट फिर्ता भएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी सशक्तरुपमा खटिन निर्देशन दिनुभयो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विगतबाट शिक्षा लिएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि क्रियाशील हुन सुझाव दिनुभयो । जनताको वीचमा जान नसक्दा पार्टी कमजोर बनेकोले अव पनि त्यो गल्ती दोहो¥याउन नहुने उहाँले उल्लेख गर्नुभयो ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पुरानै कार्यशैली, सोच र संरचनाबाट कांग्रेस चलायमान हुन नसक्ने भएकोले नयाँ सोच, शैली र संरचना आवश्यक रहेको बताउनुभयो ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता एवं केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी, प्रतिनिधिसभा सदस्य रंगमती शाही लगायतले प्रशिक्षण सफलताको कामना गर्नुभएको थियो ।
प्रशिक्षणमा कर्णाली प्रदेशबाट करिव २०० जना कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार भेलाको समापन शुक्रवार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
नेपाली कांग्रेसकाे कर्णाली प्रदेशस्तरीय प्रशिक्षण
प्रकाशित मिति: ५ भाद्र २०७६, बिहीबार १५:४१