सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधिन बहुउद्देश्यीय कवर्डहल निर्माणको काम तिव्र गतिमा भईरहेको छ । हलको जग बसाल्ने र छानो हाल्ने लगायतका काम तिव्र गतिमा भईरहेको निर्माण समितिका संयोजक चेतबहादुर अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘आगामी पुससम्म पूर्णरुपमा हल सम्पन्न हुन्छ, तर छानो र पेन्टिङ्ग सकिएपछि दशैं लगत्तै सञ्चालनमा ल्याउनेछौं ।’ अधिकारीका अनुसार हल निर्माण भएसँगै इन्डोर खेलकुद प्रतियोगिता गर्न सहज हुनेछ ।
तीन करोडको लागतमा निर्माणाधिन हल कर्णाली प्रदेशको पहिलो र नमूना हुने दाबी गरिएको छ । तीन हजार क्षमताको हलमा इन्डोरमा खेलिने तेकवान्दो, मार्शलआर्ट जस्ता प्रतियोगिताहरु गर्न सहज हुनेछ ।
हल निर्माणका लागि जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले महोत्सवबाट झण्डै एक करोड ७५ लाख रकम संकलन गरेकोको थियो । दाताले दिएको रकमले हल निर्माण हुन नसक्ने भएपछि प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
कर्णालीमा पछिल्लो समयमा खेलाडीहरु खेलकुदप्रति जागरुक भइरहँदा भौतिक संरचना निर्माण भने आशलाग्दो र भरपर्दो छैनन् । जसले गर्दा खेलाडीहरुलाई दैनिक अभ्यास र विभिन्न प्रतियोगिता गर्दासमेत आयोजकले हैरानी खेपिरहनु परेको छ । खेलमैदानको अभावमा प्रतियोगिता सञ्चालन गर्नसमेत समस्या हुने गरेको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाही बताउनुहुन्छ । ‘पछिल्लो समय खेलका गतिविधि बढेका छन्, तर, पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले ध्यान दिन सकेका छैनन्’ शाही भन्नु हुन्छ, ‘क्रिकेटका लागि कालुङ्गचौक मैदानलाई नै दीर्घकालीन रुपमा लागि प्रयोग गर्न सकिन्छ, बरु राज्यले त्यसलाई थप स्तरोन्नती गरोस् ।’
जिल्ला क्रिक्रेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी मैदान नहुँदा प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको दुखेसो गर्नुहुन्छ । ‘मैदानको अभावमा खेलाडीले अभ्यास र प्रशिक्षण पाएका छैनन्’ केसी भन्नु हुन्छ, ‘जग्गा अभावका कारण खेलमैदान निर्माण गर्न सकिएको छैन ।’ कालुङ्गचौक क्रिकेट मैदानलाई नै अब प्रादेशिक क्रिक्रेट मैदानका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले कालुङ्गचौक मैदानलाई नै प्रदेशस्तरीय क्रिकेट मैदानका रुपमा विकास गरिने बताउनु भयो । ‘खेलकुद क्षेत्रको विकास गर्न सरकार लागि परेको छ, ढिलोचाँडो भौतिक संरचनाहरु निर्माण हुनेछन् ।’ उहाँ भन्नुहुन्छ, ‘क्रिकेट मैदानदेखि प्रादेशिक रंगशाला निर्माणमा समेत हाम्रो चासो रहेको छ ।’
प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार १४:१२