खेल्दा जोश उमङ्ग मख्ख भइने गट्टा र डन्डीबियो
आफ्नै कानुन तर्क सोच बलिया संसार आफ्नै थियो।
पाए खेल्न भुलिन्छ भोजन मिठो गट्टा तथा चीं मुसी
पक्का हो मनबाट मिल्छ जनमा सन्तोष बेग्लै खुसी॥
•१•
खाना वास कपास पाउन सकोस् संस्कारले युक्त होस्
शिक्षा जीवनको कसी हुन पुगोस् सन्देहले मुक्त होस्।
होओस् इज्जत स्वावलम्बन तथा स्वाधीनताको खुसी
ईर्ष्या, द्वेष, तनावमुक्त, मन होस्, मारोस् खुसी बुर्कुसी॥
•२•
चाहे भौतिक वस्तुले घर भरोस् सम्पत्ति जोडोस् जति
तृष्णाका वशमा परोस् जन स्वयम् निम्त्याउला दुर्गति।
मान्छेका मनमा लगाम नभई बिर्सन्छ बाटो जब
राखी त्रास र ताप, पाप मनमा होला खुसी सम्भव॥
•३•
लाओस् मौलिक वस्त्र ऊ घरबुना सत्कार्यमा खास होस्
खाओस् साग र सिस्नु भित्र मनमा सन्तुष्टिको वास होस्।
चिन्ता-मुक्त, दबाब-हीन मुटु होस् सङ्गीत वा छन्द छ
झुप्रो होस् खरको अशान्ति नभए स्वर्गीय आनन्द छ॥
•४•
नाना,भोजन,देखभाल सुविधा खेल्ने कुराको कमी
होओस् वस्तु अभावमा गरिब नै बाँच्दा रहेछन् रमी।
चाहे जोखिम होस् धनी पनि नहोस् आमाबुबा पाइए
यो धर्ती, घर स्वर्ग बन्छ धन वा ऐश्वर्य के चाहिए॥
•५•
प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलवार २१:०८