मुगु । शनिवार दिउँसो परेको अविरल वर्षाले आएको बाढीले यहाँका परम्परागत पानी घट्ट र खेत बगाएको छ । छायाँनाथ रारा नगरपालिका क्षेत्रमा रहेको गमगाढ खोलामा शनिवार दिउँसो आएको बाढीले गमखोलामा रहेका ७ वटा पानी घट्ट र २ सय भन्दा बढी खेत बगाएर लगेको पछि स्थानीय बासीन्दा दुखित भएका छन् ।
स्थानीय मोहन कुमार मल्लका अनुसार दिउँसो १ बजे देखि ४ बजेसम्म परेको अविरल वर्षाले गमगाढ खोलामा बाढी आउँदा खोलाका आसपासमा रहेका छायाँनाथ रारा नगरपालिका वडा नं १ का स्थानीय डिल बहादुर मल्ल, तुलबहादुर मल्ल, पृथ्वीजंग मल्ल, रंग बहादुर मल्ल, भक्तबहादुर मल्ल, जनकबहादुर मल्ल, कवु नेपाली, जिवीलाल नेपाली, पूर्ण बहादुर मल्लका २ सय बढी खेत बगाएको छ ।
यस्तै छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका स्थानीयका गमगाढ खोलामा रहेका परम्परागत ७ वटा पानी घट्ट पनि बाढीले बगाएको स्थानीय संचारकर्मी जिवन सेजुवालले जानकारी दिनु भयो ।
बाढीले नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रको ईन्टेकमा क्षति पुराएकाले अहिले सदरमुकाम गमगढीमा क्षेत्रमा विद्युत सेवा अवरुद्घ भएको छ । प्राधिकरणले विद्युत सेवा दिएका २२ सय परिवारका घरमा अन्धकार छाएको छ ।
चार घण्टामा ४० मिली लिटर पानी परेको र छोटो अवधीमा यति धेरै पानी परेको यो पहिलो रेकर्ड भएको गमगढी हावापानी केन्द्रले बताएको छ । उक्त गमगाड खोला कै बाढीले खोलाका बिभिन्न ठाउँमा रहेका १० वटा काठेपुल समेत बगाएको छ ।
प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार १८:१५