सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको सुदूरपूर्वको सिम्ता गाउँपालिकाका बासिन्दाले बर्षमा धुम्रपान र मद्यपानमा बार्षिक सात करोड बढी खर्च गर्ने गरेका छन् ।
सिम्ता गाउँपालिकाले गरेको सर्वेक्षणमा सिम्ताका बासिन्दाले धुम्रपान र मद्यपानमा बार्षिक सात करोड खर्च गरेको पाइएको हो । यस्तै मोबाइलको रिचार्ज मात्रै चार करोड र नियमित खानपिनमा ५४ करोड खर्च गरेको पाइएको गाउँपालिकाको सर्वेक्षणमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष कवीन्द्रकुमार केसीले गाउँपालिकाको बार्षिक आम्दानी एक अर्व ५१ करोड रहेकोमा खर्च एक अर्व २८ करोड रहेको जानकारी दिनुभयो ।उहाँले गाउँपालिकाको समग्र अवस्था चित्रणका लागि सर्वेक्षण गरिएको र यसबाट गाउँपालिकाको सवै अवस्था छर्लंग भएको बताउनु भयो ।
३० हजार जनसंख्या रहेको सो गाउँपालिकामा ४६ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । ३९ प्रतिशत गरिवी रहेको सो गाउँपालिकाले रिचार्ज कार्ड र धुम्रपान तथा मद्यपानमा हुने खर्चलाई कटाएर कृषिमा थप गर्ने योजनाहरु ल्याएको छ ।
आम्दानीको २२ प्रतिशत रेमिटान्सले धानेको छ । गाउँपालिकाबासीले आफूहरुले लिएको ऋण बार्षिक ६ करोड तिर्नुपर्ने, मोबाइलको रिचार्ज मात्रै चार करोड, धुम्रपान र मद्यपानमा सात करोड खर्च गर्ने गरेको पाइएको भन्दै शिक्षामा १३ करोड खर्च हुने केसीले बताउनुभयो ।
पाँच बर्षभित्र ३९ प्रतिशत गरिवीलाई २५ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष केसीले त्यसका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, युवा पलायन रोक्न गाउँपालिकाले महत्वपूर्ण योजनाहरु संचालन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार समग्र सिम्ताको विकासका लागि गाउँपालिकाले तीन वटा कार्ययोजना बनाएको छ ।
सवै वडाहरुमा पहुँचमार्ग विकास गर्ने, सिम्ता उज्यालो कार्यक्रम र जनतासंग सिम्ता गाउँपालिका कार्यक्रममार्फत समृद्ध सिम्ताको खाका कोरिने जानकारी उहाँले दिनुभयो ।
स्थानीय सरकार स्थापना भएको दुई बर्षमा कानुनी जटिलता, नयाँ अनुभव, पुरानै सोचले काम गर्न केही कठिनाइ भएपनि चुनौतीहरु सामना गर्दै अगाडि बढ्नुपरेको उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार १७:२१