मुगु । छायाँनाथ रारा नगरपालिकाले जनैपूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक विदा दिएको छ । साउन ३० गते परेको हिन्दुहरुको चाड जनैपूर्णिमाको अवसरमा छायाँनाथ रारा नगरपालिकाले आफु मातहतका विद्यालय, स्वाथ्य चौकी, विषयगत शाखा र अन्य कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो ।
जनैपूर्णिमाका दिन आफ्नो नगरपालिका क्षेत्रका स्थानीय आफ्नो पुरानो जनै फेर्ने र गत एकादशीका दिन छायाँनाथ दर्शन गर्न लगिएका आफ्ना कुल देवताहरुको स्वागत र धुमधामसँग पूजा आजा गर्ने भएकाले बिहीबार स्थानीय सरकारले स्थानीय रिती, रिवाज, चाल चलन र धर्म संस्कृतिको जर्नेनागर्दै सार्वजनिक विदा दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केवि रोकायाले बताउनु भयो ।
जनेैपूर्णिमाका दिन गाउँघरमा खापर, मष्टा, महादेव, खडारो, भ्वानी, वेताल, कुल देवताहरुको धुमधामसँग पूजा हुने र पूजामा सबै स्थानीय मेला भर्न समेत जाने हुँदा उक्त दिन विद्यालय र कार्यालयहरुमा स्थानीय कर्मचारी र सेवाग्रही नआउने भएकाले पनि विदा दिईएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बुधवारै सार्वजनिक सूचना टाँस गर्दै जनैपूर्णिमा अर्थात रक्षाबन्धनका दिन नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयमा सार्वजनिक विदा दिएको जानकारी गराएको छ । जिल्लाका अन्य तिन वटा स्थानीय सरकारले भने जनैपूर्णिमाका दिन विदा दिएका छ्रैनन् ।
प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार २०:२५