काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) का विषयमा छलफल गरिएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरुको सहभागि थियो ।
कार्यक्रममा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने योजना बनाइरहेकाहरु तथा वैदेशिक रोजगारको क्रममा रहेकाहरुलाई मद्दत गर्ने उद्देश्यले रिक्रुटमेण्ट एडभाइजर मार्फत काम गरिएको बताउनु भयो । उहाँले छिट्टै पुग्ने भए एक्लै दौडिनु र सफलता प्राप्त गर्ने भएमा सँगसँगै हिड्नु आवश्यक रहेको भन्दै ट्रेड यूनियनहरुले सहकार्यमा विश्वास राख्ने बताउनु भयो । वैदेशिक रोजगार नेपालका लागि दिर्घकालीन नभई अल्पकालीन रोजगारीको उपाय मात्र भएको भन्दै यसलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ट्रेड यूनियन, सरकार तथा गैरसरकारी संघसंस्थावीचमा मजबूत सहकार्यको खाँचो रहेको उहाँको भनाई थियो ।
अध्यक्ष श्रेष्ठले जिफन्टले सन् १९९३ देखि दक्षिण कोरियाबाट सुरु गरेको गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई संगठित गर्ने काम हाल विस्तार भएर खाडीका अधिकाँश मुलुकमा पुगेको बताउनु भयो । श्रमिकलाई संगठित गरेर आन्दोलन गर्ने नभई सोही मुलुकमा क्रियाशील ट्रेड यूनियनको सदस्य बनाउँदै वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउनु जिफन्टको उद्देश्य रहेको उहाँले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु तथा रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई सुरक्षित र उपलव्धीमूलक वैदेशिक रोजगार बनाउने तथा रोजगारीबाट फर्केकाहरुले लिएर आउने सीप र कमाएको पूँजी उचित ठाउँमा लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले रोजगारीका लागि कामदार पठाउने मुलुकहरु एक नभएसम्म खाडीका मुलुकहरुलाई श्रमिकमैत्री कानून, नियम बनाउन बाध्य बनाउन नसकिने धारणा राख्नु भयो । उहाँले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले अझ धेरै काम गर्न जरुरी रहेको बताउनु भयो ।
महासचिव बस्नेतले नेपालमा ९ वटा ट्रेड यूनियन श्रमको मुद्दामा एक रहेको भन्दै यसमा गैरसरकारी संघसंस्थाहरु पनि एकतावद्ध हुन आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले एकापसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर कामदारको मुद्दामा सवैको सामुहिक आवाज एक हुनुपर्ने विचार प्रकट गर्नु भयो ।
कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) का अध्यक्ष कुल प्रसाद कार्कीले वैदेशिक रोजगारलाई मर्यादित र उपलव्धीमूलक बनाउन आफूहरुले पनि एकिकृत ढंगमा नै काम गरिरहेको प्रष्ट्याउनु भयो । उहाँले यसका लागि गैरसरकारी संस्थाहरु बीच मात्र नभई संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र तथा सञ्जाल वीच पनि सहकार्य सुरु गरिएको स्मरण गर्नु भयो । सरकार, ट्रेड यूनियन, गैरसरकारी संस्था, रोजगारदाता मिलेर नै ग्लोवल कम्प्याक्ट फर माइग्रेसन (जिसिएम) को लक्ष्य हासिल गर्न सकिने उहाँको भनाई थियो । उहाँले सञ्जाल सदैव जेटीयूसीसीसँग हातमा हात तथा काँधमा काँध मिलाएर अगाडी बढ्न तयार रहेको प्रतिवद्दता पनि जनाउनु भयो ।
जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तथा श्रमिकका लागि उपलव्धीमूलक बनाउन महासंघले झण्डै तीन दशकदेखि काम गरिरहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा क्रियाशील सवैको सहकार्यमा श्रमिकको जीवनलाई उन्नत बनाउन र रोजगारीलाई मर्यादित बनाउन सकिने धारणा राख्नु भयो ।
कार्यक्रममा एमआरए परियोजनाका नेपाल संयोजक सुनिल न्यौपानेले एमआरएको डिजिटल प्लेटफर्म, हालसम्म गरिएका कामहरु तथा आइपरेका समस्याहरुका बारेमा प्रस्तुती राख्नु भयो । कार्यक्रमका सहभागिहरुबाट यसमा गर्नुपर्ने सुधार तथा अपनाउनु पर्ने सचेतनाका विषयमा सुझाव आएको थियो ।
माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) अन्तर्गत सन् २०१६ देखि www.recruitmentadvisor.org वेभसाइट सञ्चालनमा छ । विभिन्न भाषामा रहेको यो वेभसाइटमा नेपाली पेजका लागि भनें www.recruitmentadvisor.org/ne रहेको छ । यो वेभसाइट जिफन्ट, आइटीयूसी तथा आइएलओको साझेदारीमा सञ्चालन गरिएको हो । यसमा वैदेशिक रोजगारमा गएका वा जाने प्रकृया पूरा गरिसके श्रमिकले सो मेनपावर कम्पनीले दिएको सेवाका आधारमा त्यसको मूल्याङ्कन गर्ने गर्दछन् । श्रमिककै मूल्याङ्कनका आधारमा मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने गरेको छ ।
प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार १७:०२