मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १४ दर्खेमा १३ वर्ष अघि स्थापना भई निर्माण कार्य थालनी गरिएको दर्खेखोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य पुरा नभई अलपत्र परेको छ ।
२०६३ सााल बाट निर्माण कार्य थालिएको उक्त विद्युत आयोजना वैकल्पिक उर्जाले बिचमै निर्माणको काम छोडेपछि अलपत्र परेको छायाँनाथ रारा नगरपालिका वडा नं १४ का अध्यक्ष नन्दलाल बडुवालले जानकारी दिनु भयो । बाम, फोईपाटा, दर्खेलवाडा, थुमवाडा र खोत्काका ३ सय २० घरधुरीलाई लक्षित गरि उक्त आयोजनाको निर्माण कार्य शुरु गरिएको थियो ।
वैकल्पिक उर्जाको ५२ लाख र स्थानीय वासिन्दाको ४० लाख रुपैयाँ योगदान गरि जम्मा ९२ लाख रुपैयाँको लागतमा उक्त विद्युत आयोजनाको निर्माण गर्न लागिएको वडा अध्यक्ष बडुवाल बताउनु भयो ।
आयोजनामा पावर हाउस निर्माण, गाउँमा विद्युत लाइन विस्तार लगायतका काम पुरा भैसकेर मेशिन जडान गर्ने काम मात्र बाँकी रहेको थियो ।
तत्कालीन समयमा जिल्ला वैकल्पिक उर्जाले प्राविधिक नखटाउँदा वत्ती बल्न नसकी विद्युत आयोजना अलपत्र परेको हो । ५ वटै गाउँमा विस्तार गरिएका पोलहरु हाल ढलेका र तारहरु लथालिङ्ग अवस्थामा रहेका छन् ।
आयोजनाका लागि आवश्यक मात्रामा विद्युतीय सामान खरिद, पावर हाउस निर्माणका साथै गाउँमा विद्युत लाइन विस्तारका लागि समुदाय र वैकल्पिक उर्जाको गरि ७५ लाख रुपैयाँ खर्च भैसकेको वडा अध्यक्ष बडुवालले बताउनु भयो । योजना निर्माणमा खटिएका स्थानीय कामदारहरुले काम गरेको ज्याला समेत नपाएको गुनासा समेत आएको वडा अध्यक्षले बताउनु भयो ।
हाल पावर हाउसमा विजुली वत्तीको तार, पोल, लगायतका विद्युतीय सामग्री अलपत्र अवस्थामा रहेका छन् । विजुली बत्ती नहुँदा दुर्गम वस्ती बाम, फोईपाटा दर्खेलवाडाका, थुम्वाडा लगायत खोत्काका ३ सय २० घरधुरीका वासिन्दाको विजुली वत्ती बाल्ने धोको अधुरै रहेको छ ।
प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार ११:३६