सुर्खेत । तरकारी र फलफुल भण्डारका लागि समस्या रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो कोल्ड स्टोर निर्माण भएको छ । २ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर करिब एक करोड ३२ लाखको लागतमा निर्माण भएको हो ।
वीरेन्द्रनगरमा निर्माणाधीन कोल्ड स्टोरका लागि वीरेन्द्रनगर नगरपालिकाले गत वर्ष टेन्डर आव्हान गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो । उहाँले उक्त कोल्ड स्टोर सञ्चालनका लागि जिल्ला सहकारी संघलाई हस्तान्तरण गरिएको बताउनु भयो । उहाँका अनुसार कोल्ड स्टोर निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले ५० लाख दिएको थियो ।
कोल्ड स्टोर निर्माणका लागि कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५६ लाख, नगरपालिकाले ५० लाख र सुर्खेतमा रहेका २१ वटा कृषि सहकारीहरुको शेयर वापत २० लाख र जिल्ला सहकारी संघको ६ लाख गरी हालसम्म करिब १ करोड ३२ लाख रुपैयाँ खर्च भएको जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपानेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो ‘कोल्ड स्टोर निर्माणका लागि रकम नपुगेर जिल्ला सहकारीले पनि सहयोग गरेको छ ।’
कोल्ड स्टोर निर्माणपछि यस क्षेत्रका किसान र व्यापारीलाई सहज हुने व्यवस्थापक न्यौपानेले बताउनु भयो । उहाँले वीरेन्द्रनगरमा तरकारी, फलफुल भन्डारन गर्ने कोल्ड स्टोरको अभावमा समस्या भएको हुँदा कोल्ड स्टोर निर्माण गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘सुर्खेतमा कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेका तरकारी, फलफुलहरु सुरक्षित गर्न निकै समस्या भयो, त्यसैले गर्दा पनि कोल्ड स्टोरको निर्माण गरिएको हो ।’
वीरेन्द्रनगरमा निर्माण गरिएको कोल्ड स्टोर वीरेन्द्रनगर ६ मा रहेको राजिता निर्माण सेवाले निर्माण गरेको व्यवस्थापक ढाकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी, फलफुल भन्डारन गर्ने कोल्ड स्टोर ४ वटा कोठाको बनाईएको छ भने २ सय मेट्रिक टन तरकारी र फलफूल भण्डारन गर्न सकिने छ ।
कोल्ड स्टोरको निर्माणको संरचनाहरुका काम सकिएपनि त्यसमा सरसफाई र विद्युतीय तार जोड्न बाँकी भएका कारण उक्त कोल्ड स्टोर केही महिनामा सञ्चालनमा आउने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोल्ड स्टोरको लगभग निर्माण सकिएको छ, केही महिनामा मै सञ्चालनमा ल्याउँछौ ।’
प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार १५:१०