सुर्खेत । भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा संभावनाको अर्को पाटो देखा परेको छ । सुरुङ निर्माणको काम सकिएको यो आयोजनामा ड्याम र विद्युत गृह निर्माणको काम पनि शुरु भएको छ ।
अबको चार वर्षमा दोस्रो चरण अन्तर्गत ड्याम र विद्युत गृह निर्माणको काम पुरा गर्ने योजनामा रहेको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माणसँगै अर्को संभावना पनि देखिएको हो । जुन संभावना कर्णाली प्रदेशका लागि महत्वपूर्ण र उपयोगि हुने छ ।
भेरी नदीमा सुख्खा याममा पनि ७६ घनमिटर मिटर प्रतिसेकेन्ड पानी हुने र ४० घनमिटर मिटर प्रतिसेकेन्ड पानी भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा लैजाने भएपछि ड्याम साइटमा बाँकी हुने ३६ घनमिटर प्रतिसेकेण्ड पानी प्रयोग गरेर विद्युत निकाल्न सकिने अर्को संभावना देखिएको हो ।
भेदी नदीमा १४ मिटर अग्लो ड्याम बन्ने र सो उचाईबाट बचेको पानीलाई उपयोग गर्दै ८ देखि १० मेगावाट क्षमताको विद्युत निकाल्न सकिने संभावना देखिएकोले अध्ययन आवश्यक भएको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका निर्देशक संजीव बरालले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘यहाँ विद्युत निकाल्न सकिने संभावना मैले देखेको छु यही कुराको जानकारी मैले प्रदेश सरकारलाई पनि जानकारी गराएको हुँ ।’ उहाँले बचेको पानीलाई उपयोग गर्दे नहरबाट ड्याम देखि ३ सय मिटर तल लगेर विद्युत निकाल्न सकिने बताउनु भयो ।
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँधमा रनअफ द रिभर परियोजना अन्तर्गत विद्युत निर्माण गर्न सकिने हुनाले थप अध्ययन गर्न आवश्यक भएको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका निर्देशक बरालले बताउनु हुन्छ । उहाँले सो स्थानमा विद्युत आयोजनाको विस्तृत अध्ययनका लागि प्रदेश वा संघीय सरकारबाट अधिकार पाए आयोजनाले काम गर्न तयार रहेको जानकारी दिनु भयो ।
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्यामलाई नै प्रयोग गरेर निर्माण गर्न सकिने हुनाले कम खर्चमा निर्माण गर्न सकिने विद्युत आयोजनाको रुपमा यसलाई हेरिएको छ ।
कर्णाली प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको बजेटमा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ड्यामबाट विद्युत निकाल्न सकिने भएकाले आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरेको छ ।
प्रदेश सरकारले भेरी बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनामा लगानी गर्ने र प्रभावित क्षेत्र सुर्खेत र सल्यानका जनतालाई शेयरमा अग्राधिकार कायम गर्ने तथा सम्पूर्ण कर्णाली वासीलाई शेयर लगानीको अवसर प्रदान गरिने कुरा बजेटमा समेत ल्याएको छ ।
त्यसैगरी भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँधबाट जलविद्युत परियोजना प्रदेश सरकार आफैले निर्माण र सञ्चालन गर्ने गरी कर्णाली विकास पूर्वाधार कोषबाट लगानी गर्ने आवश्यक बजेटको व्यवस्था गरिएको कर्णाली प्रदेश सरकारले ल्याएको चालु वर्षको बजेटको ५६ नम्बर बुँदामा उल्लेख गरिएको छ ।
सुरुङ निर्माण पुरा भएको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ४ वर्षे ठेक्का अन्तर्गत सिभिल निर्माण कार्य शुरु भएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विधुत गृह सहितको निर्माणको कामका लागि गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्ंपनी–रमण जेभीले भ्याट सहित ६ अर्ब १६ करोड ५२ लाख १५ हजार रुपैयाँको लागतमा ठेक्का लिएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार ०८:२७