सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको चर्चित पर्यटकीय स्थल बुलबुले उद्यानमा स्वतः सफा सार्वजनिक शौचालय निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सर्वसाधारणका लागि शौचालयको मागलाई मध्यनजर गर्दै बुलबुले उद्यानमा दुईवटा स्वतः सफा सार्वजनिक शौचालयको निर्माण गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले १ करोड ९ लाख को लागतमा बुलबुले उद्यानमा स्वतः सफा सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक शौचालय नहुँदा बुलबुले उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आइरहेका थिए । नगर प्रमुख सुवेदीले नगरपालिकाले एस एन भि कम्पनीसंग करिब एक वर्ष अघि बुलबुले उद्यानका लागि आधुनिक स्वतः सफा सार्वजनिक शौचालय निर्माणका लागि १ करोड ९ लाखमा सम्झौता गरेको थियो ।
नगरप्रमुख सुवेदीका अनुसार सम्झौता अनुसार बुलबुले उद्यानमा स्वतः सफा सार्वजनिक शौचालयको निर्माण कार्य पुरा भएको छ । उहाँले भन्नुभयो, ‘बुलबुले उद्यानको शौचालयको काम पुरा भइसकेको छ, अब यहीँ भदौ महिना भित्रमा सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।’
एस एन भि.का सल्लाहकार लेकविक्रम शाहले बुलबुले उद्यानको स्वतः सफा सार्वजनिक शौचालयको काम आफुहरुले गर्ने भएकाले उक्त काम सम्झौता अनुसार सकिएको जानकारी दिनु भयो । एस एन भि कम्पनीले सुन्दर नेपाल संस्थामार्फत बुलबुले उद्यानमा शौचालयको निर्माण गरिएको उहाँले बताउनु भयो।
बुलबुले उद्यानको शौचालय नगरपालिकालाई हस्तारन्तरण गरेलगतै सञ्चालनमा आउने भएको छ । एस एन भि.का सल्लाहकार शाहले भन्नुभयो ‘हामीले बुलबुले उद्यानमा शौचलयको निर्माण पुरा गरिसकेका छौ, अब कार्यविधी अनुसार नगरपालिकालाई हस्तान्तरण गर्छौ र नगरपालिकाले उक्त शौचालय सञ्चालनमा ल्याउँछ ।’
उहाँका अनुसार बुलबुले उद्यानको स्वतः सफा सार्वजनिक शौचालयमा महिला, पुरुष र अपांगता भएका व्यक्तिहरुलाई ह्विलचेयरमै प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ । शौचालयमा विरामीलाई आरामका लागि व्यवस्था, बच्चाहरुलाई डाइपरको व्यवस्था, बच्चाहरुलाई सुत्ने ठाउँको व्यवस्था, शौच सकिएपछि स्प्रे र पुछ्ने कागजको व्यवस्था र हात धुन झोल साबुन र पानीको व्यवस्था हुने उहाँले बताउनु भयो ।
प्रकाशित मिति: २४ श्रावण २०७६, शुक्रबार १५:०२