मुगु । पर्यटन विकासको मुख्य संभावना रहेको मुगु जिल्लामा प्राकृतिक साधनश्रोतले भरिपूर्ण भएपनि यातायातको भरपर्दो विकास र प्रचार प्रसार अभावका कारण उपलब्ध प्राकृति श्रोत साधन पनि ओझेलमा परेका छन् ।
आफ्नो देश र ठाउँको प्रचार प्रसार गर्न कृतिम् रुपबाट तयार पारिएका वस्तुबाट विश्वभरिका पर्यटक लोभ्यायर पर्यटनको विकासका माध्यमबाट मनग्य आम्दानी गरेर देशलाई समृद्धि तिर अघि बढाईरहेको अवस्थामा छ,तर नेपालका अनुपम् प्राकृतिक उपहार पनि प्रचार प्रसार अभावका कारण ओझेलमा पर्दै आएका छन् ।
यस्तै अनुपम् प्राकृतिक उपहार मध्येको ओझेलमा पर्दै आएको ताल हो, दूध ताल जुन मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाममा पर्दछ । स्वर्गको एक टुक्रा झैं लाग्ने दूध ताल समुद्री सतह देखि करिव ५ हजार मिटरको उचाईमा अवस्थित छ ।
बाम गाउँबाट उत्तर दिशा तिर पर्ने यो ताल गमगढीबाट २ दिनको पैदल दुरिमा पुग्न सकिन्छ । हिमालको खोजमा कन्चन, सफा र दूध जस्तै सेतो रङ्गको देखिन्छ ।
उक्त दूधतालको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नका लागि कर्णाली प्रदेश सरकारको २५ लाख र स्थानीय बासिन्दाको ७ लाख बराबरको श्रमदान गरि जम्मा ३२ लाख रुपयाँको लागतमा बाम गाउँ देखि दूध तालसम्म साढे १ मिटर चौंडाईको बाटोको निर्माण कार्य हालै सम्पन्न भएको छायाँनाथ रारा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष नन्दलाल बढुवालले जानकारी गराउनु भएको छ ।
दूध ताल, चंखेली हिमाललाई पर्यटन केन्द्रको रुपमा विकास गर्नसके पर्यटनको माध्यमबाट कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने वडा अध्यक्ष बढुवालको भनाई रहेको छ ।
दूध ताल मात्र होइन, नेपालका यस्ता अनकन्टारमा रहेका ताल तलैया, हिमश्रृङ्खला लगायतका प्राकृतिक श्रोतको पहिचान गरि त्यसको प्रचार प्रसार र संरक्षण गर्न जरुरी रहेको देखिन्छ ।
प्रकाशित मिति: २३ श्रावण २०७६, बिहीबार २०:०१