सुर्खेत । सार्वजनिक शौचालय नभएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारको पिपलचौतारामा स्वचालित (अटोमेटिक) आधुनिक शौचालय निर्माण हुने भएको छ । सार्वजनिक कार्यक्रम तथा सर्वसाधारणको चाप भइरहने पिपल चौतारा क्षेत्रमा स्वचालित आधुनिक शौचालय निर्माण गर्न लागिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले ४० लाखको लागतमा वीरेन्द्रनगर बजार पिपल चौतारामा स्वचालित (अटोमेटिक) शौचालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो । वीरेन्द्रनगर बजारमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।
वीरेन्द्रनगर बजार पिपल चौतारामा स्वचालित (अटोमेटिक) शौचालय एस एन भि कम्पनीको सहयोगमा निर्माण गर्न लागेको र उक्त शौचालयका लागि एस एन भि कम्पनीले ३७ लाख बजेट दिएको नगर प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
नगर प्रमुख सुवेदीले भन्नु भयो ‘स्वचालित (अटोमेटिक) शौचालय निर्माणको लागि अहिले ३ लाख बजेटले सेफ्टी ट्याङ्की बनाइएको छ, र बाँकी संरचना निर्माण हुदैछ ।’ ‘जग निर्माणको काम लगभग सकिएको छ, शौचालयको बाँकी निर्माण कार्य काठमाडौंमा भइराखेको छ, निर्माण कार्य पुरा भएपछि भदौ महिनाभित्र यहाँ ल्याएर जडान गरी सञ्चालनमा ल्याउँछौ ।’ उहाँले भन्नु भयो ।
एस एन भि का सल्लाहकार लेकविक्रम शाहले वीरेन्द्रनगर बजारमा रहेको पिपलचौतारामा बन्दै गरेको स्वचालित (अटोमेटिक) शौचालयका लागि काठमाडौँमा ल्याप्को टेक्नोलोजी प्रा.लि.द्धारा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नु भयो ‘वीरेन्द्रनगर नगरपािलकाले एस एन भि लाई स्वचालित (अटोमेटिक) शौचालयका लागि अनुरोध गरेको थियो, हामीले शौचालयका लागि ३७ लाख बजेट दिने निर्णय गरेका छौ ।’
वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ६ कार्यालयका अध्यक्ष मोतीप्रसाद कंडेलले वीरेन्द्रनगर बजार पिपल चौतारामा स्वचालित (अटोमेटिक) शौचालयका लागि एस एन भि कम्पनीले सहयोग गरेको बताउनु भयो । पिपल चौतारामा स्वचालित (अटोमेटिक) शौचालयका लागि ३ लाख बजेटमा सेफ्टी ट्याङ्की र बाँकी संरचना बनाएको अध्यक्ष कंडेलले जानकारी दिनु भयो ।
स्वचालित शौचालयमा दश जनाले प्रयोग गरेपछि आफै सफा हुने व्यवस्था रहेको छ भने पानी र सावुन सकिएको अवस्थामा ढोका समेत नखुल्ने र त्यसको सूचना अप्रेटरलाई जाने व्यवस्था सेन्सर मार्फत मिलाइएको हुने छ । उक्त आधुनिक स्वचालित शौचालयमा ५ वटा युरिनल, २ वटा महिला र एउटा पुरुषका लागि प्रयोग गर्ने शौचालय रहेका छन् ।
प्रकाशित मिति: २२ श्रावण २०७६, बुधबार १३:५८