मुगु । मुगुकाे छायाँनाथ रारा नगरपालिका वडा नं ४ का २९ वर्षीय वडाअध्यक्ष विष्ण बहादुर भामले आफुले पाउने पारिश्रमिक नगर क्षेत्रका १४ वडा भित्र बसोबास गर्ने दलित परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा खर्च गर्ने घोषणा गरेका छन् ।
आफ्नो ५ वर्षे कार्य अवधिमा आफुले पाउने मासिक २० हजारका दरले हुन आउने कुल रकम १२ लाख नगरपालिका भित्र रहेको ३६ वटा दलित बस्तीका बालबालिका, महिला, अपाङ्ग, एकल गरिब ब्यक्तिहरुको शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा खर्च गर्र्नेे वडा अध्यक्ष भामले ढुमगाउँको लुवारबाडामा मंगलवार आयोजित एक कार्यक्रमा बताउनु भएको हो ।
नगर क्षेत्र भित्र वडानं ५ ढुम गाउँमा रहेको लुवारवाडामा रहेका १२५ घरधुरीका दलित परिवारलाई सोमबार प्रति घर ४ पाकेट खाने तेल दिएर सहयोग कार्यक्रमको शुरुवात गरिएको छ ।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भाम २० वर्ष कै उमेरमा गाउँको वन रक्षाको हेरालो लागेर जनमुखि काम गर्दै आउनु भएको थियो भने साविक कार्कीबाडा गाविसले संचालन गरेको कर्णाली रोजगार कार्यक्रममा ७ लाख अनियमिता भएपछि एग्लै गाविसमा ताला लगाएर उपभोक्ता समितिबाट ७ लाख फिर्ता गर्न लगाएर जनतालाई सो रकम वितरण गर्नु भएको थियो ।
बच्चा देखि समाज सेवामा लागि पर्ने भाम वडा अध्यक्षमा निर्वाचित भएपछि गाउँघरमा हुने सबै खाले सामाजिक काममा आफै सरिक हुने गर्नु भएको छ ।
पारिश्रमिक दलित समुदायमा खर्च गर्न शुरु गर्नु भएका भामले आफ्नो व्यत्तिगत खर्चबाट चैन खोला, बालै बजार, लामाचौर, मिलिचोर (रारा ताल क्षेत्र) र मुख्य सडकहरुमा सार्वजनिक शौचालय बनाउने घोषणा समेत गर्नु भएको छ ।
सहयोग वितरण कार्यक्रममा सहभागि नेकपा गाउँ स्तरका अगुवा कार्यकर्ता दन्तलाल कामीले वडा अध्यक्ष भामले गरेको कार्यबाट समाजमा रहेका धनीमानी, पढेलेखेका र अगुवा नेताहरुले पाठ सिक्नु पर्ने बताउनु भयो । यो उमेरमा समाज सेवामा लागेका भामबाट युवा पुस्ताले पनि देशमा अनियमितता र भ्रष्टाचार मौलाएको अवस्थामा वडा अध्यक्ष भामको यो पुण्य कार्यको सर्वत्र चर्चा र प्रशंसा गरिन थालिएको छ ।
प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार २०:१३