सुर्खेत । सुरुङ निर्माणको कार्य तालिका अगावै ‘ब्रेक थ्रु’ गरेको राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सिभिल निर्माण कार्यका लागि ४८ महिने तालिका तय भएको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्कस, पेन स्टक र पावर हाउस लगायतका सिभिल निर्माणको दोस्रो चरणको कार्यका लागि गत साउन १३ गते आयोजना र चिनियाँ कम्पनी गुवाङडुवाङ युएनटिएन–रमण जेभी बीच सम्झौता भएको हो ।
गुवाङडुवाङ युएनटिएन–रमण जेभीले भ्याट सहित ६ अर्ब १६ करोड ५२ लाख १५ हजार रुपैयाँको लागतमा ४८ महिनामा सक्ने गरी सम्झौता गरेको आयोजनाका निर्देशक संजीव बरालले जानकारी दिनु भयो । भदौ देखि काम शुरु गर्ने गरी निर्माण कम्पनी तयारीमा जुटेको निर्देशक बरालको भनाई छ ।
तय गरिएको कार्य तालिका अगावै शुरुङ निर्माणको काम सम्पन्न भएको यस आयोजनामा सिभिल निर्माणको काम पनि चार वर्ष तोकिएपनि तीन वर्षमा सक्ने योजनाकासाथ काम गरिने आयोजनाका निर्देशक बरालले जनाउनु भयो ।
यसअघि आयोजनाको शुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रा.लि (कोभेक) ले तोकिएको समयभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न गरेको सुरुङ निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ३ गते ‘ब्रेक थ्रु’ को औपचारिक घोषणा गर्नु भएको थियो । सुरुङ निर्माण गर्न टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधि प्रयोग भएको नेपालको यो पहिलो आयोजना हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २०० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनार चिप्लेसम्म शुरुङ तयार भइसकेको यो आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन गर्नुका साथै बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
सरकारको राष्ट्रिय गौरबको यस आयोजना अन्तर्गत चिप्ले स्थित भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी हात्तीखाल स्थित बबईमा खसाली पावरहाउस निर्माण गरी विद्युत उत्पादन गरिनेछ ।
प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार ०८:१३